निर्देशक शोभित बस्नेतले ‘पीआर’ को कथा आफ्नै परिवारको अनुभवबाट जन्मिएको बताएका छन् ।
“छोरी सलिनाबाट नै यो कथा आएको हो,” उनले भने, “हामी अभिभावकको सोच हुन्छ—विदेशमा पैसा रुखमा फल्छ र छोराछोरीले त्यहीँबाट टिपेर घर पठाउँछन्। तर वास्तविकता त्यस्तो रहेनछ।” छोरी अष्ट्रेलिया गएपछि र आफैँ त्यहाँ पुगेपछि उनले ‘मेहनतबाहेक विदेशमा केही सहज छैन’ भन्ने बुझेर त्यसैलाई फिल्ममार्फत प्रस्तुत गरेका छन्।
दस वर्षपछि निर्देशनमा फर्किएका शोभित बस्नेत आफ्नो नयाँ फिल्म ‘पीआर’ को अन्तर्राष्ट्रिय प्रदर्शन तयारी मिलाउन यतिबेला अष्ट्रेलियामा छन्। अष्ट्रेलिया उड्नुअघि यसै साता नयाँ बानेश्वरस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले अष्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म रिलिजको अन्तिम तयारीका त्यता जान लागेको जानकारी दिएका थिए ।
बस्नेतका अनुसार ‘पीआर’ अष्ट्रेलिया र न्युजिल्यान्ड दुवै देशमा आधिकारिक बक्स अफिसमार्फत प्रदर्शन हुनेछ। “पीआर को कामकै लागि १०–१२ दिनका लागि अष्ट्रेलिया–न्युजिल्यान्डतर्फ जाँदैछु,” उनले भने, “न्युजिल्यान्डमा पनि बक्स अफिसमार्फत लगाउने सहमति भएपछि त्यसकै तयारीमा निस्किएको हुँ।”
उनका अनुसार तीन महिनाअघि अष्ट्रेलियाका विभिन्न शहरमा विशेष प्रदर्शन भएर दर्शकले आफ्नो नै कथा देखिएको प्रतिक्रिया दिएका थिए। बस्नेतले पोर्चुगलसहित अन्य मुलुकमा पनि प्रदर्शनका प्रक्रिया अघि बढिरहेको र चाँडै थप देशको घोषणा हुने बताए।
उनले नेपाली दर्शक फिल्मलाई रुचाउनेमा भरपर्दो देखिए। हालै सार्वजनिक गीत ‘टाटा बाई बाई’ दर्शकबीच चर्चित बनेकाले फिल्मप्रतिको उत्साह अझ बढेको उनले बताए।
विदेशी प्रदर्शनका लागि बस्नेत सक्रिय रूपमा अधिकार बिक्री गरिरहेका छन्। उनका अनुसार जापानमा फिल्मको प्रदर्शन अधिकार युना डिजिटलले खरिद गरिसकेको छ।
आगामी मंसिर २६ गते (डिसेम्बर ११) सर्वत्र प्रदर्शनमा आउन लागेको ‘पीआर’ को प्रचारप्रसारका लागि उनी छिट्टै नेपाल फर्किनेछन्।
फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायलको अभिनय छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिन्छन्।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। लेखन गणेश बुढाथोकीले, सम्पादन बन्दे प्रसादले र छायांकन सौरभ सायमी तथा सौरभ लामाले गरेका छन्। वितरण आर.आर. फिल्म्सले सम्हालिरहेको छ।