आज शुक्रबारबाट देशभरका सिनेमा घरमा तेस्रो सातामा प्रवेश गरेको ‘मन बिनाको धन’ लाई राष्ट्रिय दलित आयोगले औपचारिक शुभकामना व्यक्त गरेको छ।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार जारी वक्तव्यमार्फत फिल्म निर्माण टिमलाई धन्यवाद दिँदै जातीय छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गरेका छन्।
लोकप्रिय बालगायक अशोक दर्जी मुख्य भूमिकामा रहेको यस फिल्मले समाजमा फैलिएका कुप्रथाहरू, विशेषत: जातीय विभेद र छुवाछुत, प्रति संवेदनशील मुद्दा उठाएको आयोगको धारणा छ। वक्तव्यमा फिल्मले गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्यबोधजस्ता सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको उल्लेख छ।
आयोगले निर्माता तथा निर्देशक टंक बुढाथोकीसहित समग्र टिमलाई “जातीय विभेदमुक्त समाज निर्माणमा योगदान गर्ने विषयवस्तु उठाएको” भन्दै शुभकामना व्यक्त गरेको छ।
फिल्म नेपालसँगै कतार, युएई र बहराइनमा समेत प्रदर्शनरत छ। मंसिर १३ गतेबाट अष्ट्रेलियामा प्रदर्शन हुने तयारी रहेको फिल्मले नेपाली बक्स अफिसमा १३ दिनमै तीन करोड रुपैयाँभन्दा बढी कमाइसकेको निर्माण पक्षले जनाएको छ। चाँडै साउदी अरब र दक्षिण कोरियासहित अन्य मुलुकमा पनि प्रदर्शन हुने बताइएको छ।
फिल्मका कलाकारहरू भेट्न विभिन्न स्थानमा पुगेका बेला दर्शकले अशोक दर्जीसँग भावनात्मक रूपमा जोडिएका दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छन्। सर्लाहीमा कलाकार अशोक दर्जी र अभिनेता रमेश विश्वकर्माको पञ्चे बाजासहित गरिएको स्वागतसमेत भाइरल बनेको छ।
‘मन बिनाको धन’ मा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारका भूमिका छन्।
फिल्मको निर्माण तथा निर्देशन टंक बुढाथोकीले गरेका हुन्। कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म विष्णुमाया मैनालीले निर्माण गरेकालेखिएको छ।
कार्यकारी निर्माता मिनु शर्मा ‘सपना’, सहनिर्मातामा जी.पी. सङ्ग्रोला, विवेक नेपाल र बिजया पाण्डे छन्। फिल्मका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी रहेका छन्।