चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक

0 Shares

 मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’ को नयाँ गीत ‘मरौँ ज्यानले’ निर्माण पक्षले सार्वजनिक गरेको छ।

गीत सुशान्त गौतमको स्वर र संगीतमा तयार भएको हो भने शब्दरचना सुरेश बादलको रहेको छ। प्रेममा छटपटिएको पात्रको प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न नसक्ने, र प्रेमको चयनले पनि बाँचेको अवस्थाको भावनामा आधारित गीत तयार गरिएको छ।

गीतमा प्रेममा सँगै रहने कसम खाए पनि बीचमै सम्बन्ध टुट्दा उत्पन्न हुने छटपटाइ समेटिएको छ। प्रेमिकाको कोमल हृदयको प्रशंसा गर्दै सँगै बिताएका पल र अव्यक्त प्रेमको अनुभूति गीतमा देखाइएको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा देखिएका छन्। भिडियोमा चलचित्रका फुटेजसँगै तराई–मधेश क्षेत्रका दृश्यहरू समावेश छन्।

चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

सुशान्त गौतमको निर्देशनमा बनेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनालले गरेका छन्। चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। लाइन प्रोड्युसर जीवन शाक्य रहेका छन्।

शरद महतोको छायांकन रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, र मदन घिमिरेको सम्पादन रहेको छ।

सम्बन्धित समाचार

सबै