सौगातको नयाँ फिल्म ‘बब डाई’को छायांकन सुरु, १२ वर्षपछि प्रबिनको निर्देशनमा कमब्याक

0 Shares

सौगात मल्लको नयाँ फिल्म ‘बब डाई’ को छायांकन सोमबारदेखि सुरु भएको छ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण हुने फिल्मले ४५ दिनको छायांकन तालिका तोकेको निर्माण टिमले जानकारी दिएको छ। पहिलो छायांकन चन्द्रागिरीबाट सुरु गरिएको छ र आगामी दिनहरूमा किर्तिपुर र आसपासका क्षेत्रमा छायांकन हुने बताइएको छ।

फिल्मको निर्देशन प्रबिन श्रेष्ठले गरेका छन्। उनले १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। प्रबिनका अनुसार ‘बब डाई’ मुख्यतः किर्तिपुरको कथा आधारित छ।

चलचित्रको नामबारे उनले भने, “खासमा बब डाई भनेको बब दाई हो। नेवारी ट्युनमा दाईलाई ‘डाई’ भनिन्छ, त्यसैले नाम यसरी राखेका हौं।” फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा देखिने छन्।

चलचित्रमा सौगातसँगै सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ।

कथा मैनिषा गौचन र प्रबिन श्रेष्ठले तयार पारेका हुन्। फिल्मको मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् भने सहायक निर्देशकमा दिनेश बहादुर राउत रहेका छन्। छायांकन श्याम तामाङको टिमले गरेका हुन् भने सम्पादन प्रबिन श्रेष्ठले गर्नेछन्।

निरपेश रुपाखेती कास्टिङ डाइरेक्टर, सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर, रोयल भिमसेन पोस्टर डिजाइनर र सृष्टि महर्जन कोरियोग्राफरका रूपमा संलग्न छन्। सहायक निर्देशनमा विवेक राज भट्ट र आयुष दाहाल पनि छन्।

निर्माता राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर हुन् भने कार्यकारी निर्माता रबिन्द्र प्रजापती हुन्। फिल्मको प्रदर्शन मिति हाल तोकिएको छैन।

सम्बन्धित समाचार

सबै