जीवन शाहीको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। निर्माण पक्षले प्रदर्शन मिति सार्वजनिक गर्दै फिल्मको शीर्षक डिजाइन पनि सार्वजनिक गरेको छ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईले निर्माण गरेको यो फिल्ममा कथा निर्देशक शाही स्वयंको रहेको छ भने पटकथामा किशन अर्यालले सहकार्य गरेका छन्। फिल्ममा रामशरण उप्रेतीले छायांकन, बाबुल गिरीले संगीत, सुबास काफ्लेले प्रोजेक्ट म्यानेजमेन्ट, देव महर्जनले द्वन्द्व निर्देशन, चन्द्र भण्डारीले प्रमुख सह–निर्देशन, श्याम बरालले मेकअप र सुकनिता चौलागाईंले ड्रेस डिजाइन सम्हालेका छन्।
सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन्। सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो। सामाजिक कथामा आधारित फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपाश्री निरौला र बालकलाकार दिप्सन चिलवाल मुख्य भूमिकामा छन्।
निर्माता समिर राईका अनुसार फिल्म हाल पोस्ट–प्रोडक्सन चरणमा छ। नारी–केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले फिल्म देशभर वितरण गर्नेछन्।