‘अभिमन्यु : च्याप्टर १’ सानो फिल्म नभन्न निर्माता पौडेलको आग्रह

0 Shares

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेलले आफ्नो फिल्मलाई सानो फिल्म  नभन्न आग्रह गरेका छन्। उनका अनुसार फिल्म सानो वा ठूलो भन्नुको आधार कास्टिङ वा बजेट होइन, रिलिजपछिको प्रदर्शन र कमाइ हो।

पौडेलका अनुसार धेरै कमाइ गर्ने फिल्म ठूलो र कम कमाइ गर्ने फिल्म सानो मानिनुपर्छ भन्ने बुझाइ गलत छैन, तर केवल स्टारकास्टले मात्र फिल्म ठूलो हुन्छ भन्ने मान्यता गलत हो। उनले भने, “स्टारकास्ट भएको फिल्म मात्रै चल्छ, स्टारकास्ट नभएको चल्दैन भन्ने धारणाले नेपाली फिल्मलाई नै सीमित पार्छ।”

उनकै निर्माणमा बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले यसको उदाहरण दिएको छ। करिब डेढ करोड लागतमा बनेको फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ८० लाखभन्दा बढी कमाइ गर्दै नयाँ रेकर्ड बनाएको थियो। पौडेल भन्छन्, “अब यस्तो फिल्मलाई सानो कि ठूलो भन्ने ?”

हाल निर्माता पौडेलको दोस्रो फिल्म ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गते रिलिज हुँदैछ। फिल्म पटकपटक मिति स्थगित हुँदै आए पनि पौडेल यसप्रति निकै आत्मविश्वासी देखिन्छन्। त्यसैले फिल्म राम्रो हुने अपेक्षा गरिएको छ। पौडेलले यसलाई “अन्डरडगहरूको फिल्म” भन्दै नहेप्न चेतावनी समेत दिएका छन्।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

सुशान्त गौतम निर्देशित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक र मुकेश खनाल लेखकका रूपमा छन्। निर्माता विनोद पौडेलसँगै गुञ्जन गिरी सह–निर्माता हुन्। फिल्मका कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।

शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिआएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत तथा विश्वभर प्रदर्शन गरिनेछ।

सम्बन्धित समाचार

सबै