निर्देशक एकता पौडेलको डेब्यु फिल्म ‘हर्ष’ को निर्माण टिम देशभर प्रचारमा व्यस्त छ। यसै क्रममा टोलीले शुक्रबार झापाका विभिन्न स्कुल–कलेज पुगेर फिल्मबारे जानकारी दिँदै दर्शकलाई हलसम्म आउन आग्रह गरेको छ।
बिर्तामोडका लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल र चिल्ड्रेन स्कुलमा निर्देशक पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत उपस्थित रहे। उनीहरूले विद्यार्थीलाई फिल्मको कथावस्तु र पारिवारिक भावनालाई लिएर बनेको फिल्मको महत्त्व बारे बताए।
नेपाली फिल्ममा पारिवारिक कथाको ट्रेन्ड घट्दै गएको बेला ‘हर्ष’ ले फेरि पारिवारिक फिल्मलाई केन्द्रमा ल्याउने संकेत प्रचार सामग्रीले दिएको छ। मंसिर १२ गतेबाट प्रदर्शनमा आउने फिल्म यो विधा रोज्नुको कारणबारे निर्देशक पौडेलले भनिन्, “अहिले पारिवारिक फिल्म कम बनिरहेका छन्। यो खाडल भर्न ‘हर्ष’ बनाएको हुँ।” उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।
न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी पौडेलले आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी छन्। उनले यसअघि केही छोटा फिल्म पनि निर्माण गरेकी छन्।
‘हर्ष’ मा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको अभिनय छ। आलोक शुक्लाको छायांकन, समीर–हिमाल, बसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी फिल्ममा समावेश छ।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको ‘हर्ष’को कथा निर्देशक पौडेलकै हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता हुन् भने हिक्मत चोखाल कार्यकारी निर्माता हुन्। प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा छन्। फिल्म काफिया फिल्म्स र डिसिएनले वितरण गर्नेछन् भने डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हुनेछ।
