करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपटको दशौँ वर्षमा हिँडिरहेकी छन्।
‘नाइँ नभन्नू ल–४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन्। यति हुँदाहुँदै पनि उनले आफ्नो कामका लागि सधैँ प्रशंसा पाइरहेकी छन्।
एकता पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन्।
धेरैजसो मल्टिस्टार फिल्ममा देखिएकी वर्षा यस फिल्ममा भने केन्द्रीय भूमिकामा देखिँदै छिन्। धेरैपछि कुनै फिल्मको केन्द्रीय पात्रका रूपमा देखा पाउन लागेकोमा उनी उत्साहित छिन्।
यस्तो अवस्थामा दर्शकले आफूलाई तहगत रूपमा मूल्यांकन गर्ने उनले बताउँछिन्।
‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ। दर्शकहरूले “वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला फिल्मभन्दा कत्तिको सुधार गरिन्” भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु,’ उनले भनिन्।
उनी पछिल्लो पटक ‘ऐँचोपैँचो’ फिल्मबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्। वर्षा विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान–श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ।
यस हिसाबले उनले यस फिल्ममा निर्वाह गरेको पात्रमा वास्तविक भोगाइ मिसिएको छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ।
यसमा वर्षाले वास्तविक जीवनभन्दा अलग, आफूले निर्देशकले खोजेको चरित्रलाई उतारेको बताइन्।
‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ। त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन। सन्तान हुँदा–नहुँदा त्यो पात्रले केकस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’ उनले भनिन्, ‘निर्देशकले दिएको इसेन्सअनुसार आफूलाई पात्रमा ढाल्ने कोशिस गरेकी छु।’
कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि फिल्ममा जोडिएकी वर्षाले ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने बताइन्।
उनका अनुसार यसलाई केवल रुवाउने फिल्म भनेर बुझ्नु हुँदैन।
‘यसले पारिवारिक कथा पेस गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ। त्यसैले “रुवाउने मात्र हो कि” भन्ने लागेको हुन सक्छ। तर त्यो होइन। यसले आँसु त झारिदिन्छ, तर हर्षका,’ उनले भनिन्।
सिनेमाका पात्रहरूसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी फिल्मप्रति आशावादी छिन्।
पछिल्लो समय पारिवारिक फिल्म हेर्न दर्शक ठूलो संख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति ढुक्क छिन्।
‘अहिले नेपाली फिल्मले एकदमै राम्रो गरिरहेका छन्। धेरैजसो सफल फिल्मले दर्शकलाई रुवाएको छ, मन छोएको छ। हाम्रो फिल्मले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ। दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’ उनले भनिन्।
फिल्ममा वर्षालाई अभिनेता खगेन्द्र लामिछानेसँग जोडीको रूपमा देख्न सकिन्छ। वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्।
फिल्म मंसिर १२ गते अल–नेपाल रिलिज हुँदैछ।