नेपाली फिल्म ‘हर्ष’का निर्देशकका रूपमा डेब्यू गर्न लागेकी एकता पौडेलले आफूले उठाएको विषयवस्तु नेपाली समाजका लागि छलफलयोग्य रहेको बताएकी छन्।
मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’बाट निर्देशकका रूपमा प्रवेश गर्दै उनले न्यूयोर्क फिल्म एकेडेमीमा लिएको अध्ययन र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको पहिचानले पनि उद्योगलाईउनलाई उत्सुक्तापूर्वक हेरिरहेको छ ।
आधा दर्जनभन्दा बढी स्क्रिप्टमध्ये ‘हर्ष’ छान्ने कारणबारे बोल्दै पौडेलले पारिवारिक कथालाई पहिलो फिल्मका रूपमा प्रस्तुत गर्न चाहेको बताइन्। ‘हर्ष’को ट्रेलरले यसमा पारिवारिक भावनात्मक कथा रहेको स्पष्ट भइसकेको छ।
दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनले भनिन्, “नेपाली फिल्म अहिले राम्रो कमाइ गरिरहेको देखेर उत्साहित छु। यहाँ आउँदै गर्दा जमल हुँदै आएं, विश्वज्योति अगाडि तीनवटा नेपाली फिल्मका पोस्टर देखेर म नोस्टाल्जिक भएँ। मेरो फिल्म पारिवारिक हो, मन छुने कथा भन्न खोजेकी छु। शिव मामाले जस्तो शतप्रतिशत दिन नसके पनि संवेदनशील विषयलाई उठान गर्ने कोसिस गरेकी छु।”
न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गर्दा विभिन्न देशका विद्यार्थीहरूको दृष्टिकोण नजिकबाट बुझ्न अवसर पाएकी उनले अभिव्यक्तिको शैली समाज र परिस्थितिले फरक पार्ने बताइन्। त्यसैले ‘हर्ष’मा नेपाली समाजको परिवार–मनोविज्ञान र सामाजिक वातावरणलाई केन्द्रमा राखिएको छ।
वंश निरन्तरतामा देखिने सामाजिक दबाब र त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक प्रभाव ‘हर्ष’को मुख्य विषय भएको पौडेल बताउँछिन्।
उनका अनुसार, “छ–सात स्क्रिप्टमध्ये यो त्यसैले छनोट गरेँ– यसले उठाएको विषयमा सार्वजनिक बहस आवश्यक छ। दर्शकले सही रूपमा बुझे भने यो विषय अझ गहिरो छलफलमा जान्छ।”
महिला निर्देशक र महिला–केन्द्रित कथावस्तुको कारण फिल्मले महिला दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा पनि गरिएको छ।
यसबारे उनले भनिन्, “मैले प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेकी छु।”