अटिजमको संवेदनशील विषय उठाएका कारण बहुप्रतिक्षित रहे आएको डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ।
सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको फिल्मको १ मिनेट १४ सेकेन्ड लामो टिजर कम्पनीको आधिकारिक च्यानलमार्फत बाहिरिएको हो। टिजरमा एक आमाले आफ्नी छोरीसँग आँसु झिकाउ भावनामा व्यक्त गरेको गल्ती–स्वीकारोक्तिले कथाको केन्द्रबिन्दुलाई झनै शक्तिशाली बनाएको छ।
निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिक भएसँगै अब ‘मौन’लाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो, र विशेष स्क्रिनिङमार्फत दर्शकमाझ ल्याउने तयारी तीव्र बनाइएको छ। यसअघि सार्वजनिक दुई पोस्टरले नै फिल्मप्रति उल्लेख्य चासो पैदा गरेको थियो।
सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथलगायत कलाकारको अभिनय समेटिएको ‘मौन’ले अटिजमजस्तो प्रायः बेवास्ता गरिने विषयमा गहिरो कथा बोकेको टिजरबाटै स्पष्ट हुन्छ।
ज्ञवालीले ‘मौन’लाई व्यावसायिक उद्देश्यका लागि नभई सामाजिक दायित्वका आधारमा निर्माण गरिएको बताए। चर्चित लेखक रामशरण पाठकद्वारा लेखिएको कथामा अटिजमबारे चेतना, सहानुभूति र समाजिक संवेदनशीलताको आवश्यकता जोडिएको छ।
केही समयअघि नेपालमा चलेको जेन्जी आन्दोलनका कारण फिल्मका विशेष शो र च्यारिटी स्क्रिनिङ रोकिएका थिए। निर्देशक ज्ञवालीले राजनीतिक–सामाजिक परिस्थितिले असर पारेकाले कार्यक्रम स्थगित भएको तर अब आयोजकहरूसँगको समन्वयपछि विशेष प्रदर्शन पुनः सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार ‘मौन’का स्क्रिनिङहरू केवल मनोरञ्जनका लागि नभई स्कुल, कलेज, संस्था र समुदायमा अटिजमबारे सचेतना फैलाउने अभियानका रूपमा अघि बढाइनेछ।
फिल्मको छायांकन शंकल्प भुजेल, प्रमुख सहायक निर्देशक वसन्त अधिकारी, सहायक निर्माता हरी क्षेत्री भूपेन्द्र हुन्। ध्वनि डिजाइन भरत कँडेल, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, र सम्पादन नहकुल खड्काकाे छ।
पत्रकारिताबाट फिल्म निर्माणमा प्रवेश गरेका निर्देशक ज्ञवालीले एक दशकको अनुभवपछि डकुड्रामा, डकुमेन्ट्री र सर्ट फिल्म निर्माणमा सक्रिय छन्। उनले ‘आराध्या’, ‘एक लभर’, ‘हनिमुन’, ‘लिलामी’, ‘डार्कमुन’, ‘लापत्ता सन्तान’, ‘रित्तो गाउँ’, ‘मौन’, ‘निशब्द’लगायत परियोजनामा काम गरिसकेका छन्।
तर ‘मौन’, ‘निशब्द’ र ‘रित्तो गाउँ’ च्यारिटी र विशेष प्रदर्शनमा सीमित गर्दै सार्वजनिकरूपमा नछाडिएको उनले स्पष्ट पारे।