चलचित्र विकास बोर्डद्वारा २६ चलचित्रघरलाई विकास शुल्क अभिमुखीकरण तालिम सम्पन्न

0 Shares

चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित आयोजना गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ।

मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको यस चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेश (चितवन) सहित देशभरका २६ चलचित्रघरका प्रतिनिधिहरू सहभागी बने।

तालिममा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टलको प्रयोग, डेटा अभिलेखन, प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, तथा कार्यप्रणालीलाई झन् सरल, व्यवस्थित र पारदर्शी बनाउने उपायहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

उक्त तालिम बोर्ड सदस्य गणेश प्रसाद सुवेदी, अधिकृत दिनेश बानियाँ, प्रविन पाण्डे, तथा एष्टर इनोभेसन प्रा.लि.का प्रशिक्षक सेरफ लामाको टोलीले सञ्चालन गरेको थियो।

नेपाली चलचित्र क्षेत्रलाई अझ सक्षम, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले बोर्डले चालू आर्थिक वर्षलाई ‘दक्ष चलचित्रकर्मी, चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरिसकेको छ। सोही अभियानअन्तर्गत बोर्डले आफ्नो प्रमुख आयस्रोत—चलचित्र विकास शुल्क—लाई डिजिटल र अभिलेखिकृत रूपमा व्यवस्थापन गर्न तयार गरिएको चलचित्र विकास शुल्क पोर्टलको व्यापक अभिमुखीकरण सुरु गरेको हो।

बोर्डले यो कार्यक्रममार्फत देशभरका सबै चलचित्रघरलाई अनलाइन दर्ता, शुल्क व्यवस्थापनमा दक्षता, आर्थिक पारदर्शिता, राजस्व संकलन तथा संरक्षण, र सुशासनतर्फ अग्रसर गर्ने दीर्घकालीन आधार तयार हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै