म्याग्दीका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म ‘परालको आगो’ ४० दिनमै छायांकन पूरा भएको निर्माण पक्षले जनाएको छ। दसैंअघि सुरु भएको यो फिल्मको छायांकन मंगलबार सम्पन्न गरिएको हो।
सुटिङ पूर्ण भएपछि निर्माण टिमले फिल्मका तीन फरक लुक्स र रिलिज मिति सार्वजनिक गरेको छ। फिल्म आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले जानकारी दिए।
‘अरु फिल्मलाई पनि बजारमा उत्तिकै मौका मिलोस् भन्ने उद्देश्यले हामीले मेजर डेट छोडेर साधारण मिति रोजेका हौ,’ पोखरेलले भने। उनले साथीहरुको फिल्मलाई सम्मान गर्दै आफ्नै मितिमा अन्य फिल्म नजुधाइदिन आग्रह पनि गरे।
उनका अनुसार एउटै समयमा धेरै फिल्म रिलिज हुँदा हल व्यवसायीदेखि निर्माता सबैलाई नोक्सानी हुने भएकाले बैशाख ११ गते शुक्रबारलाई ‘डेटलक’ गरिएको हो।
पोखरेलले फिल्मका चार गीतसहित सम्पूर्ण छायांकन सकिएको र विभिन्न अवरोधका बीच पनि काम सफलतापूर्वक पूरा भएको बताए। जेनजी आन्दोलन, वर्षा र पहिरोका कारण ३० दिनको सेड्युल १० दिनले बढे पनि कलाकार–प्राविधिकको निरन्तर मेहनतले छायांकन पूरा भएको उनको भनाइ छ।
‘परालको आगो’ हिमाली नयनाभिराम लोकेसनमा छायांकन गरिएको फिल्म हो। सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा र बाल कलाकार एन्जिला बाँनियादेखि करिब ६०० जना जुनियर आर्टिष्टले चुनौतीपूर्ण अवस्थामासमेत उत्कृष्ट काम गरेको निर्माता पोखरेलले बताए।
‘हाम्रो कन्टेन्ट बलियो छ, र सबै कुरामा कुनै सम्झौता गरेका छैनौँ,’ उनले भने।
गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार एन्जिला बाँनिया अभिनय गर्छन्।
फिल्मका कलाकारले भूमिकालाई प्रभावकारी बनाउन काठमाडौंमा वर्कसपसमेत गरेका थिए, जसले फिल्म अझ राम्रो बनेको विश्वास पोखरेलले व्यक्त गरे।
सुशील देवकोटाको लेखनमा तयार भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्। गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका हुन्। संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतकै रहेको छ।
गत भदौ २६ देखि म्याग्दीमा छायांकन सुरु भएको फिल्मका छायाकार संकल्प भुजेल हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्स र ओएसआर ओटीटीले रिलिजपूर्व नै उच्च रकममा खरिद गरेको निर्माण पक्षले जनाएको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित यसै नामको फिल्म ४५ वर्षअघि प्रताप सुब्बाले निर्देशन गरेका थिए, जुन अत्यन्त नै सफल मानिन्छ।