नेपाली बक्स अफिसमा निरन्तर सफलता पाइरहेको फिल्म ‘परान’ले विदेशमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियामा रिलिज भएको चार दिनमै ६२ हजार अष्ट्रेलियन डलर कमाएको छ। नमस्ते इन्टरटेन्मेन्टका अनुसार अष्ट्रेलियामा नेपाली दर्शकले फिल्मप्रतिको रुचि प्रशंसनीय देखिएको छ। कम्पनीले अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा ‘परान’को प्रदर्शन अधिकार लिएको छ।
कार्कीका अनुसार ३० भन्दा बढी शोमार्फत प्रदर्शन भइरहेको फिल्मले प्रारम्भिक चार दिनमा उल्लेखनीय कलेक्सन गर्दै अष्ट्रेलियाको बक्स अफिसमा छैटौँ स्थान ओगट्न सफल भएको हो। बलिउड र हलिउड फिल्मको प्रतिस्पर्धाबीच पनि ‘परान’ले राम्रो व्यापार गरिरहेकाले यो साता १ लाख अष्ट्रेलियन डलर पार गर्ने अनुमान गरिएको छ।
नेपालमा भने फिल्मले घरेलु बक्स अफिसमा हालसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाइसकेको छ। चौथो शनिबारसम्म पनि १ करोड रुपैयाँभन्दा बढी कमाउँदै ‘परान’ले लगातार सफलताको यात्रा जारी राखेको छ। कार्तिक १४ गते सार्वजनिक प्रदर्शनमा आएको यो फिल्म रिलिजअघि अत्यधिक व्यापारिक फिल्मका रूपमा अपेक्षित थिएन।
दिपक प्रसाद आचार्य निर्देशित ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रबिण खतिवडा, महेश त्रिपाठी र बुद्धि तामाङलगायतको अभिनय छ। फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी रहेको छ।