मंसिर १८ गते प्रदर्शनमा आउँदै गरेको चलचित्र अभिमन्यु : च्याप्टर १ को हिन्दी भर्सनको टिजर सार्वजनिक गरिएको छ।
निर्माणपक्षले हिन्दी भाषी दर्शक र भारत तथा ओभरसिज मार्केटलाई लक्षित गर्दै टिजर रिलिज गरेको हो।
टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारहरु देख्न सकिन्छ। यसमा प्रेम, सस्पेन्स, पैसाको लोभ, अपहरण, सेयर बाँडफाँट, प्रहरीको कस्टडीमा पुगेको आरोपी र उसको बयानजस्ता घटनाहरू प्रस्तुत गरिएको छ।
टिजरले मुख्य पात्र कसरी अपहरणकारी बन्छ भन्ने सस्पेन्स कथा देखाउने संकेत दिएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलले मुख्य भूमिकामा अभिनय गरेका छन्।
निर्देशक सुशान्त गौतमको नेतृत्वमा बनेको यस फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनालको रहेको छ।
अभिमन्यु : च्याप्टर १ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। सिनेमाको लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको यस फिल्मको सम्पूर्ण टिमले हिन्दी र नेपाली दुवै भाषामा दर्शकको अनुभव उत्कृष्ट बनाउन काम गरेको छ।