मंसिर १२ गतेदेखि प्रदर्शनमा आउँदै गरेको चलचित्र हर्ष को प्रिमियर शो बुधबार ललितपुरस्थित लभिम मलमा भव्य रूपमा आयोजना गरिएको थियो। कार्यक्रममा स्वर्गीय निर्देशक शिव रेग्मीकी पत्नी ज्ञानु रेग्मी, निर्माता, निर्देशक, कलाकार र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिती रहेको थियो।
भारतको मुम्बईमा बस्ने अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रिमियरमा सहभागी भइन्। उनले हर्ष, डेब्यु निर्देशक एकता पौडेलको चलचित्र, अत्यन्त राम्रो बनेको बताइन् र सन्देशमुखी फिल्म भएकाले सबैले हेर्नुपर्ने सुझाव दिइन्। उनले सिनेमाको सुरुवातमा स्वर्गीय निर्देशक शिव रेग्मीको तस्वीर देख्दा भावुक भएको पनि बताइन्।
ज्ञानु रेग्मीले पनि हर्ष राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन्। उनले १२ वर्षपछि पौडेलले निर्देशकको भूमिका सम्हालेको उदाहरण दिँदै आफ्नो खुशी व्यक्त गरिन्।
अभिनेता–व्यवसायी संजोग कोइरालाले हर्ष पारिवारिक सिनेमा भएकाले फरक अनुभव दिने बताए भने अभिनेत्री वर्षा राउतले प्रिमियर शोमा प्राप्त प्रतिक्रिया सकारात्मक भएकोमा खुशी व्यक्त गरिन्।
सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछानेले प्रिमियर शोको प्रतिक्रियाबाट उत्साहित हुँदै दर्शकले पनि मन पराउने विश्वास व्यक्त गरे। डेब्यु निर्देशक एकता पौडेलले आफ्नो सपना साकार भएकोमा खुशी व्यक्त गर्दै, पाहुनाहरुले मामाको झल्को पाएको प्रतिक्रिया पाउँदा आगामी दिनमा अझ राम्रो फिल्म बनाउने चुनौती महसुस भएको बताइन्।
सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीले अभिनय गरेका छन्।
छायांकन आलोक शुक्लाले, संगीत समीर, हिमाल, वसन्त सापकोटा र एलिश कार्काले, सम्पादन लोकेश बज्राचार्यले, र कोरियोग्राफी सुनिल क्षेत्री र निर्देशक पौडेलले गरेका छन्।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको हर्ष को कथा स्वयं निर्देशक पौडेलको हो। निर्माता प्रशन्न पौडेल र विकास पौडेल, कार्यकारी निर्माता हिक्मत चोखाल, प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा रहेका छन्।