ब्लकबस्टर निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माण गर्ने घोषणा गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’ सफलतापूर्वक निर्देशन गरेका पौडेलले २६ सेकेन्ड लामो टाइटल अनाउन्समेन्ट टिजर सार्वजनिक गर्दै नयाँ प्रोजेक्टको घोषणा गरेका हुन्।
टिजरमा फिल्मको टाइटल मात्र देखिन्छ भने पृष्ठभूमिमा मन्त्र पढेजस्तै आवाज सुन्निन्छ, तर त्यसको स्पष्ट अर्थ भने बुझिँदैन। फिल्मको कथा स्वयं निर्देशक पौडेलले नै लेख्ने भएका छन्।
नुवाकोटको ऐतिहासिक ‘सिन्दुरे जात्रा’मै आधारित फिल्म हो कि अन्य कथावस्तु रहेको छ—यसबारे पौडेलले खुलाएका छैनन्।
सारंगी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा प्रभाकार श्रेष्ठ निर्माता छन्। कलाकार सूची केही समयपछि सार्वजनिक गरिने निर्देशक पौडेलले बताएका छन्।
फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ। रिलिज मिति भने अझै घोषणा गरिएको छैन।
केही महिनाअघि पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो। प्रदर्शनकै समयमा जेनजी आन्दोलनका कारण उत्पन्न चुनौतीबीच रिलिज भए पनि फिल्मले सामाजिक विषयवस्तु, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया पाएको थियो।
पौडेलले ‘सिन्दुरे जात्रा’मार्फत कस्तो नयाँ सिर्जना ल्याउने हुन् भन्नेमा दर्शकको चासो बढिरहेको छ।