‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

0 Shares

कृष्ण फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म ‘लोकन्ती’ को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक गरिएको छ। यही मंसिर २६ गते (शुक्रबार) देखि देशभरका हलमा प्रदर्शनमा आउने फिल्मको गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन्। ‘लाजै नमानी’ बोलको यो प्रेमिल गीतमा मेलिना राई र नारायण थापाले स्वर दिएका छन्। गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने संगीत विकास चौधरीले तयार पारेका छन्।

काजी लिम्बुद्वारा लेखिएको कथामा आधारित ‘लोकन्ती’ लाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन्। फिल्ममा एसराज गराच मुख्य भूमिकामा देखिँदै छन्। काभ्रे जिल्लाका वास्तविक तथा प्राकृतिक लोकेशनमा छायांकन गरिएको फिल्मले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। फिल्ममा एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री देख्न सकिन्छ। साथै, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

यसै फिल्ममार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्।
फिल्ममा विकास चौधरीको संगीत निर्देशन, रोनिश तामाङ च्याङ्बाको छायांकन, अशोक रोक्काको शृंगार तथा गौतम राज खड्काको सम्पादन रहेको छ।

‘लोकन्ती’मा शंकर अधिकारी, डा. ओम कृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगीका गीत समावेश छन्। नेपाली संस्कृति, भावना र सामाजिक कथामा आधारित यो फिल्मले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार

सबै