‘रोल नं. १’को छायांकन म्याग्दीबाट सुरु

0 Shares

नेपाली फिल्म ‘रोल नं. १’ को छायांकन आधिकारिक रूपमा म्याग्दीबाट सुरु भएको छ। दुई हप्ता लामो वर्कसप सम्पन्न भएपछि निर्माण टिम छायांकनका लागि निस्किएको निर्माण पक्षले जानकारी दिएको छ। करिब डेढ महिनाको सेड्युल रहने बताइएको छ।

फिल्मका मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन्। फिल्मको निर्देशन जोन योञ्जनले गरिरहेका छन् भने कथा पनि उनी स्वयंको हो।

निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं. १’ भ्रम, सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले सहनुपर्ने मनोवैज्ञानिक दबाब तथा ‘जित्नै पर्छ, नजिते इज्जत हुँदैन’ भन्ने कठोर मानसिकता विरुद्ध बनेको कथा हो। फिल्मले कक्षाको फर्स्ट मात्रै बुद्धिमान, अरु मूर्ख हुने धारणालाई चुनौती दिनेछ।

यसअघि सार्वजनिक फर्स्ट लुकमा एक बालक कक्षाकोठामा हात उठाउँदै उपस्थिति जनाइरहित दृश्य देखाइएको थियो। निलो सर्ट लगाएका विद्यार्थीले भरिएको कक्षा, अगाडिको कालोपाटी र नजिकै उभिएकी शिक्षिकाले कथा शिक्षामुखी रहेको संकेत गर्थ्यो।

फिल्ममा महेश दवाडीले पटकथा तथा संवाद लेखिरहेका छन्। संगीत प्रशान्त शिवाकोटीको रहनेछ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। कार्यकारी निर्माता रमेश चौलागाईं रहेका छन्।

फिल्ममा शिवराम श्रेष्ठको डीओपी, चिफ एडी फिरोज खड्का, प्रोडक्सन डिजाइनर कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी र सम्पादक मदन घिमिरे रहेका छन्।

निर्माता पौडेलकै अर्को फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

 

सम्बन्धित समाचार

सबै