फिल्म ‘बिगुल’को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति तथा दिनेश कोइरालाको कथा–निर्माण रहेको यो फिल्म माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।
सार्वजनिक तीनवटा पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेत्री बेनिशा हमाल गम्भीर मुद्रामा देखिन्छिन्, जहाँ पछाडि राँको लिएका प्रदर्शनकारीहरूको भीड देखिन्छ। दोस्रो पोस्टरमा बेनिशा हमाल, नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित अभिव्यक्तिमा छन्। तेस्रो पोस्टरमा ‘बिगुल’का सबै प्रमुख कलाकारहरू समावेश छन्।
फिल्मको छायांकन गत जेठदेखि सुरु भएको हो। फिल्ममा उठाइएको मुद्दा र गत भदौमा जेन्जी पुस्ताले गरेको देशव्यापी आन्दोलनका मागबीच गजबको समानता रहेको निर्माण पक्ष बताउँछ।
कथाकार तथा निर्माता दिनेश कोइराला भन्छन्, “फिल्मले उठाएको मूल मुद्दा र जेन्जी पुस्ताले अघि सारेका माग बीच अत्यन्त मेल छ। त्यसैले हामीले यो फिल्म जेन्जी आन्दोलनलाई समर्पण गरेका छौं। फिल्मले युवालाई चेतना जगाउँदै परिवर्तनको बिगुल फुक्नेछ।”
उनका अनुसार ‘बिगुल’ ले भ्रष्टाचार, विकृति उन्मूलन, सामाजिक न्याय, पारिवारिक संघर्ष र महिलाहरूले भोग्नुपरेको अन्यायलाई कथाको केन्द्रमा राखेको छ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमालसँगै नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतका कलाकारको अभिनय छ।
फिल्ममा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा–संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ।
काठमाडौँ उपत्यकामा काफिया फिल्म्सले फिल्म वितरण गर्नेछ भने मोफसलमा श्री बैंकटेस इन्टरटेन्मेन्टले वितरण गर्नेछ।