गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ले नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरेको छ। स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द तथा समीर–हिमालको संगीत रहेको गीतलाई बसन्त सापकोटाले पुनः एरेञ्ज गरेका छन्। गीतमा गायिका गरिमा अधिकारीको स्वर रहेको छ।
गीतको भिडियोमा मुख्य अभिनेता साइमन वादीसँगै खगेन्द्र लामिछाने र वर्षा राउत पनि देखिन्छन्। फिल्म प्रदर्शनसँगै बाल कलाकार साइमन वादी चर्चामा रहेका छन्। उनी विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट र प्रतिक्रिया लिइरहेका छन्। अभिनेत्री वर्षा राउत पनि दर्शक प्रतिक्रियाबाट उत्साहित रहेको बताइन्।
गत शनिबार पोखरा एभेन्जर्स टिमले पनि फिल्म हेरेको थियो। खेलको दबाबबीच राम्रो फिल्मले ताजगी दिएको प्रतिक्रिया उनीहरूले साझा गरे।
फिल्म ‘हर्ष’ निर्देशक एकता पौडेलको डेब्यु निर्देशन हो। उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ अध्ययन गरेकी पौडेलले यसअघि केही छोटा फिल्म निर्माण गरेकी छन्।
फिल्ममा खगेन्द्र र वर्षासँगै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ।
फिल्ममा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, बसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी समावेश छन्।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेलकै हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता हुन्। हिक्मत चोखाल कार्यकारी निर्माता तथा इश्वर घिमिरे प्रोडक्सन म्यानेजरका रूपमा छन्। मुख्य सहायक निर्देशकमा कुलदीप शर्मा रहेका छन्।