`पिआर´ प्रचारका लागि नेपाल आइपुगे सुरज र बिनिता

0 Shares

मंसिर २६ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘पीआर’को व्यापक प्रचारप्रसार सुरु भएको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका फिल्मका मुख्य कलाकार—नायक आर.ए. सुरज पौडेल र नायिका विनिता कार्की—निर्देशक शोभित बस्नेतसँगै नेपाल फर्किएका छन्। बस्नेत एक साताअघि अष्ट्रेलिया पुगेका थिए।

नेपाल ओरेलगत्तै कलाकारहरू अब प्रचार अभियानमा सक्रिय हुने तयारीमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि निर्देशक बस्नेतले फिल्मलाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्‍याउनैका लागि उनीहरूलाई लिएर नेपाल फर्किएको बताए।
“दर्शकको समक्ष फिल्म पुर्‍याउन कलाकारको ठूलो भूमिका हुन्छ,” बस्नेतले भने, “अब नायक–नायिकासहित प्रचारमा व्यापक रूपमा लागिन्छ।”

बस्नेत अष्ट्रेलिया तथा अन्य मुलुकमा फिल्मको प्रदर्शन समय मिलाउने उद्देश्यले गएको बताइन्छ। नायक सुरज पौडेलले पनि दर्शकसँग प्रत्यक्ष भेट र प्रमोसनका लागि नेपाल आएको बताए।
“अष्ट्रेलियामा नै कलाकार खोजी भइरहेको सुन्यौं, अन्ततः त्यो खोजीले हामीलाई नेपाल ल्यायो,” उनले भने।

डेब्यु नायिका विनिता कार्की पनि नेपाल आएर उत्साहित छिन्। “अष्ट्रेलियामा भएको विशेष शोमा दर्शकले निकै मन पराइदिनुभयो,” कार्कीले भनिन्, “नेपालमा पनि त्यही ऊर्जा पाउँछु भन्ने विश्वास छ।”

निर्माण टिम सोमबारदेखि थप प्रचारमा जुट्ने तयारीमा छ। यसैबीच फिल्ममा समावेश ‘टाटा बाई बाई’ गीतले हाल चर्चामा रही फिल्मको हाइप बढाइरहेको छ।

फिल्ममा सुरज पौडेल र विनिता कार्कीसँगै नीर शाह, गौरी मल्ल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायलको अभिनय छ। साथै विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन्।

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। लेखन गणेश बुढाथोकीको र सम्पादन बन्दे प्रसादको रहेको ‘पीआर’का छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्।
फिल्मको वितरण आर.आर. फिल्म्सले गर्नेछ।

यो फिल्म निर्देशक शोभित बस्नेतको दस वर्षपछि गरिएको कमब्याक मानिन्छ। विदेश प्रदर्शन अधिकार तीव्र गतिमा बिक्री भइरहेका छन्। केही साताअघि जापानस्थित युना डिजिटलले पनि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको थियो।

सम्बन्धित समाचार

सबै