फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले सोमबार साँझ ललितपुरस्थित लबिम मल्लको क्यूएफएक्समा आयोजित प्रिमियर शोमै उत्कृष्ट प्रतिक्रिया पाएको छ। हलमा उपस्थित दर्शक तथा कलाकारहरूले फिल्मको सस्पेन्स, कथन शैली र अभिनयको प्रशंसा गरे।
प्रिमियरमा पुगेका अधिकांश कलाकारले फिल्मले सुरुदेखि अन्त्यसम्म कौतुहलता कायम राख्ने क्षमता रहेको बताए।
उनीहरूको भनाइमा, फिल्मको स्टोरी–टेलिङ, चरित्र निर्माण र सशक्त अभिनय यसको मुख्य बलियो पक्ष बनेको छ।
अभिनेता दिव्यदेव पन्तले फिल्मको कथावस्तु, निर्देशन र अभिनयलाई “अब्बल” भन्दै प्रशंसा गरे। उनले महिलाको प्रस्तुति प्रभावकारी भएको उल्लेख गर्दै भने, “सामान्यतया महिलालाई कन्भिन्स मात्र गराइने पात्रमा राखिन्थ्यो, तर यस फिल्मले त्यो परम्परा तोडेको छ।”
पन्तले निर्माता विनोद पौडेलले नाम चलेका स्टारभन्दा पनि उत्कृष्ट कलाकार र बलियो स्क्रिप्टमा विश्वास गरेको उल्लेख गर्दै ‘अभिमन्यु’को प्रशंसा गरे।
निर्देशक सोभित बस्नेतले नेपाली फिल्म बजारमा आएको परिवर्तन उल्लेख गर्दै भने,
“पहिले स्टारका फिल्म चल्थे, अहिले कलाकारका फिल्म चलिरहेका छन्। दर्शकले अभिनयलाई प्राथमिकता दिन थालेका छन्।”
उनले कामेश्वर चौरसियाको अभिनयलाई विशेष उल्लेख गर्दै,
“कामेश्वरजस्तो कलाकार भएकाले यो फिल्म चल्नैपर्छ,”
भने।
अभिनेत्री अलिआशा बास्तोलालाई फिल्म ‘ब्लकबस्टर हुने अनुभूति’ भएको थियो।
“साउथ इन्डियन फिल्म हेरेजस्तै अन्तिमसम्म ‘अब के हुन्छ?’ भन्दै हेर्न मन लाग्ने फिल्म हो,”
भनेर उनले प्रशंसा गरिन्।
अर्की अभिनेत्री रुषा न्यौपानेले नेपालमा चलिरहेको परिवार–ड्रामा ट्रेन्डभन्दा अलग सस्पेन्स थ्रिलर आएकोमा खुशी व्यक्त गरिन्।
“दर्शक पछुताउनु पर्ने फिल्म होइन,”
भनेर उनले हलसम्म आउने आग्रह गरिन्।
फिल्मकी अभिनेत्री लक्ष्मी बर्देवा गर्भवती अवस्थामै शूटिङमा सहभागी भएकी रहिछन्।
“स्क्रिप्ट पढ्दा मन परेको थियो, पर्दामा हेर्दा अझ राम्रो लाग्यो,”
उनले भनिन्।
अभिनेत्री सरिता गिरीले पुरुष–प्रधान फिल्म बनिरहेको समयमा ‘अभिमन्यु’ जस्तो महिला केन्द्रित फिल्म बन्नु सकारात्मक रहेको बताइन्।
“पुरुष पात्रहरूले महिलालाई सपोर्ट गरेको देख्दा खुसी लाग्यो,”
उनले भनिन्।
कमेडियन भरतमणी पौडेलले फिल्मले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषय उठाएको र सस्पेन्सपूर्ण रूपमा प्रस्तुत गरेको बताए।
मुख्य अभिनेता कामेश्वर चौरसिया प्रिमियरपछि भावुक बने।
“कलाकार बन्न स्क्रिप्ट चाहिने रहेछ। अब्बल भूमिकाको अवसर पाएर धन्य छु,”
उनले प्रतिक्रिया दिए।
अभिनेता किरण श्रेष्ठले अनुभवी कलाकारहरूसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे।
सुशान्त गौतम निर्देशित याे फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक र मुकेश खनाल लेखक छन्।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन्।
जीवन शाक्य लाइन प्रोड्युसर, शरद महतो डीओपी, मनोज श्रेष्ठ भिएफएक्स, जुनिम गहतराज रंग संयोजन र मदन घिमिरे सम्पादक हुन्।
फिल्म यसै बिहीबारदेखि नेपालभर प्रदर्शन हुँदैछ।
नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी रूपमा पनि रिलिज हुने तयारी छ।