यस्तो बन्यो सुरज र विनिता अभिनित फिल्म ‘पीआर’को ट्रेलर

0 Shares

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत निर्माण टिमले ३ मिनेट १ सेकण्डको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया पुगेका युवायुवतीको संघर्षमय कथालाई प्रस्तुत गरिएको छ। रिण लिएर अष्ट्रेलिया पुगेका युवाहरूको मुख्य सपना ‘पीआर’ प्राप्त गर्ने भए पनि, घरबाट पठाइएको ससाना अपेक्षाहरू पूरा गर्न नसक्दा सिर्जना हुने तनाव र विदेशको कठोर यथार्थलाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन्।

ट्रेलर हेर्दा फिल्मले प्रेमकथा, बिछोड र ‘आफ्नो देश नै आफ्नो हुन्छ’ भन्ने भावनात्मक सन्देश दिँदैछ। यही मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्मको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल र विनिता कार्की नेपाल आएका हुन्। उनीहरू फिल्मका मुख्य अभिनेताअभिनेत्री हुन्।

फिल्ममा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल पनि प्रमुख भूमिकामा छन्। नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्।

ट्रेलरमा नीर शाहले बोलेको संवाद ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’ निर्माण पक्षले दर्शकलाई छोर्ने विश्वास लिएको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका छन्। फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानी रहेको छ।

छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन्।
गणेश बुढाथोकी लिखित गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर रहेको छ।
फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् र वितरण आर आर फिल्म्सले गर्नेछ।

सम्बन्धित समाचार

सबै