‘लोकन्ती’ फिल्मको ट्रेलर सार्वजनिक, मंसिर २६ देखि देशभर प्रदर्शन

0 Shares

कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ। यही मंसिर २६ गते शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मको ट्रेलर राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको २ मिनेट ३० सेकेन्डको ट्रेलरमा कमेडी र पारिवारिक कथालाई प्रस्तुत गरिएको छ। ट्रेलर रिलिज समारोहमा फिल्मका सम्पूर्ण टिमको उपस्थिति थियो। ट्रेलरमा प्रमुख कलाकारहरूलाई समेटिएको छ।

काजी लिम्बुले लेखेको कथामा आधारित ‘लोकन्ती’लाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामा रूपमा प्रस्तुत गरेका छन्। फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिएका छन्। लामो अन्तरालपछि ‘लोकन्ती’मार्फत फर्कँदै गरेका एसराजले फिल्म राम्रो बनेको र दर्शकले मन पराउने विश्वास व्यक्त गरे।

फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री देखिन्छ। साथै, विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूले मुख्य भूमिका गरेका छन्। यसै फिल्ममार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरेका छन्।

फिल्मको संगीत विकास चौधरीले निर्देशन गरेका छन् भने छायांकन रोनिश तामाङ च्याङ्बाको छ। शृंगार अशोक रोक्काले र सम्पादन गौतम राज खड्काले गरेका छन्। ट्रेलरको सम्पादन सन्दीप डाँगीले गरेका हुन्।

फिल्ममा शंकर अधिकारी, डा. ओम कृष्ण प्रसाईं, दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत समावेश गरिएको छ। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै