‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शन

0 Shares

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आज (बिहीबार) बाट देशभर प्रदर्शनमा आएको छ। उँधौली पर्वको बिदालाई लक्षित गर्दै फिल्म रिलिज गरिएको हो।

कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा रहेको यस फिल्मले देशभरका अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको निर्माण पक्षले जनाएको छ।

सोमबार सम्पन्न प्रिमियर शोमा सहभागी फिल्म मेकर, कलाकार र पत्रकारहरूले फिल्मको विषयवस्तु, मेकिङ, प्रस्तुति र अभिनयको तारिफ गरेका थिए। प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाले दर्शकबाट पनि राम्रो वर्ड अफ माउथ आउनेमा कलाकार तथा निर्माण पक्ष ढुक्क छन्।

“हामीले केही फिल्म मेकर, कलाकार र पत्रकारलाई सिनेमा देखाएका थियौँ। उहाँहरूले मुक्तकण्ठले प्रशंसा गर्नुभयो,” अभिनेता कामेश्वर चौरसियाले भने, “त्यसैले दर्शकले पनि मन पराउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। दर्शकले दिने प्रतिक्रियालाई सुझावको रूपमा लिएर हामी अघि बढ्नेछौँ।”

सुशान्त गौतम निर्देशित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशकका रूपमा छन्। मुकेश खनालले लेखन गरेको यस फिल्ममा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ। साथै रेखा थापा अतिथि भूमिकामा देखिएकी छन्।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।

शरद महतोको डिओपी रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरे सम्पादन रहेको छ। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा नेपाल तथा विश्वभर एकसाथ रिलिज गरिएको छ।

सम्बन्धित समाचार

सबै