बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। फिल्म नेपाली समाजको ऐना बनेको र दाइजो प्रथाले सिर्जना गर्ने भयावह अवस्थालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन्।
फिल्मले दाइजोका कारण देखिएका सामाजिक समस्या र त्यसले नेपाली समाजलाई अघि धकेलेको कथालाई प्रस्तुत गरेको दर्शकको भनाइ छ। हलमा फिल्म हेर्न पुगेका एक दर्शकले भने, “फिल्ममा नायिकाको यात्रा जसरी देखाइएको छ, त्यो अहिलेको नेपाली समाजकै प्रतिबिम्ब जस्तो लाग्यो। महिलाहरूको वास्तविक अवस्थासँग फिल्म जोडिन पुगेको अनुभव भयो।”
दर्शकले फिल्मले ‘मुटुमै हान्यो’ भन्दै साथीभाइलाई पनि हेर्न सुझाव दिएका छन्। “सबैलाई हेर्न सुझाउँछु। यो हाम्रै समाजको कथा हो। धेरैले आफैँसँग रिलेट गर्नुहुनेछ,” दर्शकले प्रतिक्रिया दिए।
फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायतको अभिनय छ भने रेखा थापा अतिथि भूमिकामा देखा परेकी छन्।
सुशान्त गौतमद्वारा निर्देशित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक हुन्। मुकेश खनालको कथामा बनेको ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता तथा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
फिल्मको सिनेमेटोग्राफी शरद महतोले गरेका छन्। मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरे सम्पादनमा रहेका छन्।