हङकङ–मकाउ र पोर्चुगलका लागि फिल्म ‘पीआर’ को प्रदर्शन अधिकार बिक्री

0 Shares

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमका अनुसार हङकङ र पोर्चुगलका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ।

निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका छन्। यस्तै, पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले अधिकार प्राप्त गरेका छन्।

अब जापान, अष्ट्रेलिया, न्युजिल्याण्डसँगै हङकङ र पोर्चुगलमा पनि फिल्म ‘पीआर’ प्रदर्शन हुनेछ। निर्देशक बस्नेतले भने, “अहिले जापान, अष्ट्रेलिया, न्युजिल्याण्डसँगै हङकङ र पोर्चुगलमा फिल्म ‘पीआर’ का शो सोल्ड–आउट भइसकेका छन्। अन्य देशसँग पनि प्रदर्शनका लागि कुराकानी भइरहेको छ।”

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र सन्तोष तिवारी (क्यारियर्स गेटवे) का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग निकै बढेको छ, जसले फिल्मको अन्तर्राष्ट्रिय आकर्षण उच्च रहेको संकेत गर्छ।

मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले एक महिनाअघि अष्ट्रेलियाका विभिन्न शहरमा विशेष शो गरिसकेको थियो। ती शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए।

फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी ‘मस्तानी’, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्की देखिन्छन्।

रञ्जित साह र सन्तोष तिवारीद्वारा प्रस्तुत यस फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको ट्रेलर पनि उनैले तयार गरेका हुन्। कथा गणेश बुढाथोकीले लेखेका हुन्। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने कोरियोग्राफी रामजी लामिछानेको छ।

फिल्मका गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको आवाज सुन्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’ को वितरण आर आर फिल्म्सले गरिरहेको छ।

सम्बन्धित समाचार

सबै