‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

0 Shares

मोडलिङबाट चर्चा कमाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्।

अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुँदै गरेको फिल्म ‘तरंग’ मार्फत उनी पहिलोपटक फीचर फिल्ममा अभिनय गर्न लागेका हुन्।

एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण फिल्ममार्फत दर्शकमाझ आउन लागेकोमा उत्साहित देखिन्छन्। फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफू ‘तरंग’मा जोडिएको उनले बताए। “मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्छु,” बरुणले भने।

दर्शकले आफ्नो पात्र रुचाउनेमा उनी विश्वस्त छन्। निर्देशक चौधरीले नै यस फिल्मको पटकथा लेखेका छन्। मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सुजन राई र तर्कराज जोशी हुन्।

‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुँदै गरेको ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा, भेडेटारलगायत स्थानमा हुनेछ। केही दिनदेखि बेलबारीमा फिल्मको छायांकन भइरहेको छ।

करिब २ करोड रुपैयाँ बजेटमा निर्माण भइरहेको फिल्ममा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङलगायत कलाकारको अभिनय देखिनेछ।

फिल्मका छायाकार महेश पौडेल हुन् भने निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार रहेका छन्। खलनायकका विभिन्न भूमिकाबाट परिचित निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन्।

यस फिल्मलाई २०२६ भित्र रिलिज गर्ने तयारी निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै