‘मिरमिरे’को टिजर सार्वजनिक

0 Shares

यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ। माघ १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको टिजरमा मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ।

टिजरमा बाबु–छोरीको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्ने छोरीको मनोविज्ञान र उनीहरूबीचको इमोशनल जर्नी टिजरले देखाउँछ।

फिल्ममा बुवाको भूमिकामा दयाहाङ राई देखिन्छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी वहन गरेका छन्। यसका लागि उनी स्कुलमा काम गर्छन्। छोरीले अनायासै आमाको अभाव महसुस गरिरहेकी छन्, जुन दयाहाङले पनि बुझिरहेका छन्।

सिर्जना निङलेखु फिल्ममा स्कुलकी शिक्षिकाको भूमिकामा छन्। टिजरले उनी दयाहाङ र प्रकाश सपूतसँग त्रिकोणात्मक प्रेममा रहेको आभास दिएको छ। संवाद र दृश्यहरूले उनी दुवैसँग भावनात्मकरूपमा जोडिएको संकेत गर्छन्।

टिजरको अधिकांश भाग दयाहाङ राईले ओगटेका छन्। ‘मिरमिरे’ले आमाको अभावमा बाउले हुर्काएको बच्चा र बुवाको भावनात्मक यात्रालाई केन्द्रबिन्दु बनाएको स्पष्ट संकेत टिजरले दिएको छ। पारिवारिक कथा र भावना प्रधान प्रस्तुति भएकाले फिल्मले दर्शकमाझ स्थान बनाउन सक्ने टिजरले इङ्गित गर्छ।

यार्सा फिल्म्सको प्रस्तुतिको रूपमा तयार भएको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

फिल्मका निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्मसका सञ्चालक एवं वितरक रोहित कट्टेल हुन्।

यस फिल्ममा वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप कलाकार र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन्।

‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

सम्बन्धित समाचार

सबै