अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने यस फिल्मले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई कथामा प्रस्तुत गरेको छ।
फिल्मको प्रमोसनका लागि हाल नेपाल आएका पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिनुको कारण र अष्ट्रेलियाको व्यस्त दिनचर्यामध्ये सुटिङ गर्नु परेको अनुभवबारे खुलकरी बताए। प्रस्तुत छ उनीसँग गरिएको विस्तृत कुराकानी—
– यो फिल्ममा कसरी जोडिनुभयो?
अष्ट्रेलियामा शोभित बस्नेत सरले यस फिल्मका लागि अडिसन लिइरहनुभएको थियो। उहाँकी छोरी सलिना बस्नेतले म्यासेज गरेर अडिसनबारे जानकारी दिइन् र सहभागी हुन सुझाइन्। अभिनय गर्ने मन पहिलेबाट भएकाले अडिसन दिएँ र चयन भएँ।
– सलिनासँग चिनजान कहिले भयो?
हाम्रो भेट २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोका क्रममा भएको हो। त्यहीँबाट राम्रो साथी बनेका हौँ। पछि उहाँले नै अडिसनबारे जानकारी दिइन्।
– सलिनाको भनाइमा अडिसनमा जानुभएको हो कि शोभित बस्नेतसँग पनि पहिले कुरा गर्नुभयो?
सलिनाबाट थाहा पाएपछि मैले शोभित सरलाई म्यासेज गरेर अडिसनको स्थान र समय सोधेँ। उहाँले बोलाउनुभयो। वान–लाइन अडिसनपछि उहाँले “के छ त तिम्रो विचार?” भनेर सोध्नुभयो। अष्ट्रेलियामा समय मिलाउने कुरा मनमा थियो। तर उहाँले “अतालिनु पर्दैन, स्क्रिप्ट पढ अनि निर्णय गर” भन्नुभयो। यसले धेरै आत्मविश्वास मिल्यो।
– उहाँले के भन्नुभएको थियो?
उहाँले भन्नुभएको थियो—“स्क्रिप्ट पढिसकेपछि तिमीलाई फिल्म गर्न सक्छु भन्ने आत्मविश्वास आउँछ।” त्यसै रात स्क्रिप्ट पठाइदिनुभयो। पढेपछि कास्टमा जोडिनै पर्ने लाग्यो। कथाको ९९ प्रतिशत भाग अष्ट्रेलियामा सुरुका दिनमा मैले भोगेको जीवनजस्तै लाग्यो।
– स्क्रिप्ट मन परिनुको मुख्य कारण के हो?
स्क्रिप्टमा समाजलाई सन्देश दिने गहिरो कन्टेन्ट छ। अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक जीवन छर्लङ्ग देखिन्छ। यो विषय बोलिनै पर्ने लागेर फिल्ममा जोडिने निर्णय गरेँ।
– डेब्यु फिल्ममा काम कत्तिको सहज भयो?
जीवनमा कुनै पनि कुरा पुरै सहज हुँदैन। तर शोभित बस्नेतजस्तो अनुभवी निर्देशकसँग काम गर्दा धेरै सहज भयो। उहाँले आफ्नो अनुभवका आधारमा काम गर्ने वातावरण सहज बनाइदिनुभयो। अरु कसैसँग भएको भए यति सहज नहुनेथियो होला।
– वर्कसप कत्तिको प्रभावकारी भयो?
झन्डै डेढ महिना वर्कसप भएर मात्रै सुटिङ सुरु भएको हो। वर्कसपले क्यारेक्टरमा बस्न, संवाद बुझेर प्रस्तुत गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गर्यो।
– अष्ट्रेलियाको व्यस्त दिनचर्यामध्ये सुटिङका लागि समय निकाल्न कति चुनौतीपूर्ण भयो?
इच्छा भए सबै सम्भव हुन्छ। पढाइ, काम, मोडलिङ, क्रिकेट—सबै चलिरहेको बेला सुटिङ गर्न समय निकाल्नु पर्यो। शोभित सरले सबै कलाकारको समय समायोजन गरेर सुटिङ तालिका मिलाइदिनुभएकोले सहज भयो।
– यसअघि अभिनय तालिम लिइसक्नुभएको थियो?
हो, दुई–तीन वर्कसप गरिसकेको थिएँ। अभिनय क्लास पनि लिइरहेको थिएँ। आधारभूत कुराहरू सिकिसकेकाले फिल्ममा काम गर्न सजिलो भयो।
– अन्त्यमा—अभिनयमा निरन्तरता दिन चाहनुहुन्छ कि अष्ट्रेलिया फर्कने योजना छ?
अष्ट्रेलियामा रहे पनि काम आयो भने नेपाल आउन गाह्रो हुँदैन। ‘पीआर’ का कारण पहिले पनि नेपाल आएर काम गरेर फर्किएको हुँ। ‘पीआर’पछि पनि दर्शकले मलाई अन्य फिल्ममा देख्न पाउनुहुनेछ।