‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

0 Shares

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरले सिनेमाको कथावस्तुमा प्रकाश पारेको छ। भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेको आन्दोलनको कथा यसमा देखिन्छ। ट्रेलरले केही समयअगाडि नेपालमा भएका जेनजी आन्दोलनको झल्को पनि दिन्छ।

विदेश गएर उच्च शिक्षा हासिल गर्ने सपना अधुरो रहँदा एक युवाले कसरी भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँछ भन्ने कथा ट्रेलरमा प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको देखिन्छ। कथावस्तु जेनजी आन्दोलनसँग मिल्दोजुल्दो देखिए पनि आन्दोलन अघि नै छायांकन सकिएकाले मिल्न गए संयोग मात्रै भएको निर्देशक पाँडेलाई उद्धृत गर्दै बताइएको छ।

नागराज इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बनेको यस सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दै छन्। छायांकनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएका थिए। सिनेमामा गणेशसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय समावेश छ।

आगामी पुष ४ गते देशव्यापी रिलिज हुने सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकार दिप्सन चिलवाल पनि अभिनयमा देखिनेछन्। साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।

निर्देशक घिमिरेकै कथामा आधारित सिनेमाको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरे ले सह–लेखन गरेका हुन्। सिनेमाका छायांकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको यस प्रोजेक्टमा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता हुन्। लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन्।

सम्बन्धित समाचार

सबै