रेखा थापाको अभिनय हेरेर हुर्किए,उहाँको नक्कल गर्दा गर्दै अहिले अभिनेत्री भए : बिनिता कार्की

0 Shares

विदेशमा बसेर पनि नेपाली फिल्ममा अभिनय गरेकी कलाकार हुन् विनिता कार्की। उनी मोडलिङमार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। यही मंसिर २६ गतेबाट अल–नेपाल प्रदर्शनमा आउने फिल्म ‘पीआर’ का लागि प्रचारप्रसार गर्दै उनी नेपाल आइपुगेकी छन्। उनका अनुसार, फिल्मले अष्ट्रेलिया पुगेका नेपाली युवाको वास्तविक कथालाई उठाएको छ।

सानै उमेरमा सुपरस्टार रेखा थापा, झरना थापा र निरुता सिंहको अभिनय र नृत्य हेरेर हुर्किएकी विनिताको सपना अभिनेत्री बन्नु थियो। अहिले शोभित बस्नेतको निर्देशनमा बनेको ‘पीआर’ मा मुख्य भूमिकामा अभिनय गर्न पाउँदा उनी दंग छिन्। फिल्म सफल भएमा नेपालमै बसेर अभिनय यात्रालाई अगाडि बढाउने योजना समेत राखेकी छिन्। गीत र ट्रेलरले राम्रै चर्चा पाइरहेको अवस्थामा उनी यो फिल्मले दर्शकको मन जित्नेमा ढुक्क छिन्।

उनीसँग गरिएको छोटो कुराकानी :

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा कस्तो महसुस भइरहेको छ?

अलिक अलिक डर लागेको छ, अलि खुशी पनि। तर एकदमै उत्साहित छु।

तपाईंको पहिलो फिल्म हो? कसरी प्रवेश गर्नुभयो?

फेसबुकमार्फत जोडिएकी हुँ। फेसबुकमै एक दिदीले मलाई मेन्सन गर्नुभएको थियो। त्यही मेन्सनकै कारण म यो फिल्मको अडिसनसम्म पुगेँ।

मेन्सनमार्फत जोडिएको भनियो, विस्तृतमा बताइदिनुहोस्।

फिल्मको अडिसन चलिरहेको जानकारी पाएपछि अडिसनका लागि गएँ। अडिसनपछि “तिमी सेलेक्ट भयौ” भन्ने जानकारी दिइयो। तर फिल्ममा खेलाउने कुरा तुरुन्तै भएन। “सेलेक्ट भए पनि अन्तिममा इन्टरभ्यु गर्छौँ, त्यसपछि मात्रै कन्फर्म हुन्छ” भनेर निर्देशक शोभित बस्नेत सरले भन्नुभयो। इन्टरभ्यु पास भएपछि मात्र फिल्ममा काम गर्ने मौका पाएँ।

सेलेक्ट भएपछि कस्तो अनुभूति भयो?

फिल्ममा काम गर्ने खबर सुन्दा खुशी नहुने त प्रश्नै छैन। मेरो सपना नै अभिनेत्री बन्ने थियो। त्यो सपना ‘पीआर’ बाट पुरा हुँदैछ।

फिल्ममा आउनुभन्दा अघि मोडलिङ पनि गर्नुभएको रहेछ?

हो, सन् २०१८ तिर नेपालमै मोडलिङ गरिरहेकी थिएँ। अष्ट्रेलिया गएपछि अलि समय निकाल्न सकिन।

फिल्ममा काम गर्ने तपाईंको सपना थियो कि, अवसर भेटिएपछि मात्र सोच बनाउनु भयो?

फिल्ममा काम गर्ने सपना त कसैको हुँदैन र? मेरो पनि थियो। नेपालमा केहि गर्ने मन थियो तर विदेशिनुपर्‍यो। तर अभिनेत्री बन्ने सपना भने मनमै बाँकी थियो। ‘पीआर’ बाट नै त्यसको सुरुआत भयो।

सानोमा रेखा थापा, निरुता सिंह, झरना थापाले फिल्ममा नाचेको टिभीमा देख्थेँ। म पनि उनीहरूजस्तै नाच्न घरको ऐनामा ट्राइ गर्थेँ। उनीहरूले गरेको अभिनय नक्कल गर्ने मेरो अभ्यासले नै मलाई अभिनयमा प्रेरित गर्‍यो।

अभिनय सिक्नुभएको थियो?

छैन, औपचारिक रूपमा अभिनय सिक्ने मौका पाइनँ।

अभिनय नसीक्दा फिल्ममा काम गर्न कति सहज रह्यो?

डिरेक्टर राम्रो भए सबै सहज हुने रहेछ। निर्देशकले आत्मविश्वास दिएपछि “म पनि गर्न सक्छु” भन्ने आँट आउँदो रहेछ। शोभित बस्नेत सरले यही हौसलाले मलाई सहज बनाइदिनुभयो। टिम पनि राम्रो भएकाले काम गर्न गाह्रो भएन।

अब कलाकारितालाई निरन्तरता दिन चाहनुहुन्छ?

हो, अब फिल्ममै काम गर्छु भन्ने लक्ष्य बनेको छ। अरू केही सोचेको छैन।

दर्शकलाई के भन्न चाहनुहुन्छ?

हाम्रो फिल्म यही मंसिर २६ गतेबाट हलमा लाग्दैछ। फिल्म हेरेर कस्तो लाग्यो, जसरी लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला।

सम्बन्धित समाचार

सबै