काभ्रेको पनौतीमा निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ २’को छायाङ्कन शुभमुहूर्तसहित सुरु गरेका छन्। करिब साढे तीन करोड लगानीमा निर्माण भइरहेको सुपरहिट फिल्म ‘झिँगेदाउ’को सिक्वेल सोमबारबाट आधिकारिक रूपमा फ्लोरमा आएको निर्माता समेत रहेका निर्देशक देउजाले जानकारी दिए।
मुख्य अभिनेता आर्यन सिग्देलले गरेको मुहूर्त सटबाट छायाङ्कन सुरु भएको फिल्मको सेड्युल ६० दिनको छ। फिल्मका लागि पनौतीमा भव्य सेट निर्माण गरिएको छ, जसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा पनि छायाङ्कन गरिने योजना छ। फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तर कथा अघि बढाइएको यस सिक्वेललाई कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालले संयुक्त रूपमा निर्माण गर्दैछन्।
फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक देउजाकै कथामा आधारित फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डी गुरुङको सम्पादन रहनेछ।
फिल्मका प्रोडक्सन म्यानेजर इशवर घिमिरे, मुख्य सहायक निर्देशक चन्द्र भण्डारी, कला निर्देशक पासाङ टी शेर्पा र मानिक पाख्रिन छन्।
फिल्मको छायांकन बिष्णु घिमिरे ‘कल्पित´ले गरिरहेका छन्। निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन्।