सुशान्त गौतम निर्देशित फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक सफलता पायाे । डिसेम्बर ११ देखि रिलिज हुने उक्त फिल्मले पहिलो सातामै ५०० भन्दा धेरै शो सुनिश्चित गर्न सफल भएको सह–निर्माता रमेश चौलागाईंले जानकारी दिए।
उनका अनुसार दर्शकको चाप बढ्दै गएसँगै शोहरू अझ थपिँदै जाने अनुमान गरिएको छ। “नेपालमा फिल्मले प्राप्त गरेको सकारात्मक प्रतिक्रिया र समीक्षाको प्रभाव विदेशस्थित नेपाली समुदायमा समेत देखिने विश्वास छ,” उनले भने।
नेपालमा गत बिहीबारबाट प्रदर्शनमा आएको ‘अभिमन्यु : च्याप्टर–१’ ले उपलब्ध शोहरूमा उच्च अकुपेन्सी कायम राख्दै राम्रो प्रदर्शन गरिरहेको छ।
फिल्मले सस्पेन्स निर्माण गर्दै मधेसमा विद्यमान दाइजो प्रथाको समस्या र पछिल्लो समय नेपालमा कसरी विभिन्न तिकडममार्फत ‘इजी मनी’ कमाइने प्रवृत्ति बढ्दै गएको छ भन्ने विषयलाई उठान गरेको छ। दर्शक र समीक्षक दुवैले फिल्मलाई रोचक र प्रभावशाली भन्दै प्रशंसा गरेका छन्।
दर्शकको अत्यधिक सकारात्मक प्रतिक्रियासँगै फिल्मको सिक्वेलको माग पनि बढेको छ। पहिलो भागमै ‘च्याप्टर–१’ शीर्षक राखिएकाले सिक्वेल आउने निश्चित ठानिएको छ।
फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनालले गरेका छन्। ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्।
कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
फिल्मका डीओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रङ संयोजन जुनिम गहतराज र सम्पादन मदन घिमिरेले गरेका छन्।
लाइन प्रोड्युसर जीवन शाक्य हुन्।