आउँदो शुक्रबार (मंसिर २६) बाट प्रदर्शनमा आउने फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को बुधबार साँझ क्यूएफएक्स, सामाखुसीस्थित सिटी स्क्वायर हलमा भव्य ग्रान्ड प्रिमियर सम्पन्न भयो। निर्माण टिमले फिल्म रिलिजअघि दुई दिनमै विशेष शो आयोजना गरेको हो।
प्रिमियर शोमा पत्रकारहरूका साथै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, कलाकारहरू गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य (काकु), रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दना लगायत प्रतिष्ठित कलाकारहरूको उपस्थिति उल्लेखनीय थियो।
अभिनेत्री रेखा थापाले फिल्म अत्यन्त राम्रो बनेको र नयाँ कलाकारहरूको काम प्रभावकारी लागेको प्रतिक्रिया दिइन्।
यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले निर्देशक शोभित बस्नेतको निर्देशन र कलाकारहरूको अभिनय प्रशंसनीय रहेको बताउँदै “हरेक नेपालीले यो फिल्म हेर्नुपर्छ” भन्ने टिप्पणी गरे।
प्रिमियरमा उपस्थित अधिकांश व्यक्तिहरूले पनि फिल्म सशक्त बनेको प्रतिक्रिया दिए।
अभिनेता सलिनमान बनियाँ ले मुख्य कलाकारहरूको अभिनय उत्कृष्ट रहेको बताउँदै, “नयाँ कलाकार भएर पनि निकै परिपक्व देखिए। मैले डेब्यु गर्दा भन्दा उनीहरूले अझ राम्रो काम गरेजस्तो लाग्यो,” भने।
फिल्मका निर्देशक शोभित बस्नेत ले कलाकारहरूप्रति आएको प्रशंसाले आफू खुशी भएको बताए। उनले भने,
“यिनीहरू हलभित्र प्रवेश गर्दा कसैले चिन्दैनथे, बाहिर निस्कँदा ‘वाह–वाह’ सुन्न पाउँदा मलाई आफ्नै फिल्म सफल भएको अनुभव भयो।”
निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, जयकिशन बस्नेतलगायत कलाकारहरूले पनि फिल्म उत्कृष्ट बनेको उल्लेख गर्दै नव कलाकार सुरज पौडेल र विनिता कार्कीलाई बधाई तथा शुभकामना दिए।
रेजिना उप्रेतीले फिल्मका केही दृश्यले आफू भावुक बनेको उल्लेख गर्दै, “विदेशमा पुगेपछि नेपालीहरू कस्तो कठिनाइ भोग्न बाध्य हुन्छन् भन्ने पक्षले मन छोयो,” भनिन्।
फिल्मले अस्ट्रेलियामा स्थायी आवासीय अनुमति (पीआर) पाउन नेपाली विद्यार्थीले गर्नुपर्ने संघर्ष तथा घरपरिवारको ऋणले पेल्ने दैनिकीलाई देखाउँछ। शोभित बस्नेतले निर्देशन गरेको यो फिल्म नेपालको साथै अस्ट्रेलियामा सुट गरिएको हो।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर. ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्।
विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, दिक्पाल कार्की पनि देखिन्छन्।
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादले सम्पादन, गणेश बुढाथोकीले लेखन तथा सौरभ सायमी र सौरभ लामाले छायांकन गरेका छन्।
फिल्मको वितरण आरआर फिल्म्स ले गरिरहेको छ।