‘आ बाट आमा’ टिजरले २ दिनमै ११ लाख भ्युज पार गर्‍यो, दर्शकबाट पाइरहेछ यस्तो प्रतिक्रिया

0 Shares

काठमाडौं।
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को टिजरले रिलिज भएको दुई दिनमै ११ लाख भ्युज पार गर्न सफल भएको छ। युट्युबमा सार्वजनिक भएको छोटो समयमै टिजरले उल्लेखनीय प्रतिक्रिया बटुलेको हो। समाचार तयार हुँदासम्म टिजरले ५२ हजारभन्दा बढी लाइक र २१ सयभन्दा बढी कमेन्ट प्राप्त गरिसकेको थियो।

दर्शक आशिष मल्ल ठकुरीले टिजरलाई १०३ पटक हेरेपछि पनि मन नभरिएको प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्,
“१०३ चोटी हेरिसकेँ। अब सिधै फिल्म हेर्ने छु। पल शाहको अभिनय यति उत्कृष्ट छ कि बयान गर्न सकिन्न।”

अर्का दर्शक सुरज थापाले अभिनेत्री विपना थापाको अभिनय स्तरका बारेमा प्रशंसा गर्दै लेखेका छन्,
“बिपना थापा इज बेष्ट। कसैले सक्छ त विपना थापा जतिको अभिनय गर्न?”

अधिकांश दर्शकले ‘आ बाट आमा’ नाम नै फिल्मको भावना बुझाउन पर्याप्त भएको प्रतिक्रिया दिएका छन्। टिजरमा परदेशिन लागेको छोरालाई देखेर आमाबुबाको मनस्थितिलाई प्रस्तुत गरिएको छ, जुन धेरै नेपालीको भावनासँग जोडिएको देखिन्छ।

छोटो समयमै यति धेरै भ्युज पाउनुले टिजरले नेपालको युट्युब ट्रेन्डिङमा पनि बलियो उपस्थिति जनाउँदैछ।

चितवन, काठमाडौंलगायत स्थानमा छायांकन गरिएको फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायत कलाकारहरूको मुख्य भूमिका छ।
फिल्मले आमा र सन्तानबीचको माया, ममता र भावनात्मक सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा नवराज उप्रेती (DOP), कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम (संगीत) रहेका छन्।
फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै