नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेका चर्चित फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएका बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनलाई भावनात्मक ढंगले प्रस्तुत गर्ने यस फिल्मले देशभर उल्लेखनीय दर्शक समर्थन पाउँदै आएको छ।
ग्रेट इभेन्ट मुभीको प्रस्तुतीमा फिल्मलाई अमेरिकी दर्शकसमक्ष लैजाने तयारी तीव्र रूपमा भइरहेको निर्माण पक्षले जनाएको छ। नेपालमा फिल्मले हालसम्म तीन करोड अस्सी लाख रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ। अमेरिकामा प्रदर्शनको औपचारिक घोषणा भइसकेको र विभिन्न शहरहरूमा शोका लागि आवश्यक तयारी भइरहेको जानकारी निर्माण टिमले दिएको छ।
अमेरिकामा बस्ने नेपाली समुदायले अशोक दर्जीको घर निर्माणका क्रममा देखाएको साथ–सहयोग सम्झिँदै फिल्म अमेरिकामा प्रदर्शन हुन लाग्दा उत्साह प्रकट गरिएको छ। नेपाली कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएका ग्रेट इभेन्ट मुभीका डा. कुमार गुरुङले पनि फिल्म प्रदर्शनका लागि सहयोग गरेका छन्।
उत्कृष्ट संगीत, पारिवारिक कथा र प्रेरणादायी विषयवस्तु समेटिएको ‘मन बिनाको धन’ युएसका विभिन्न शहरमा छिट्टै प्रदर्शन हुने भएकाले फिल्म हेरेर सहयोग र उत्साह प्रकट गर्न अमेरिका निवासी नेपालीलाई आग्रह गरिएको छ।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोललगायत कलाकारको अभिनय रहेको छ।
टंक बुढाथोकीले निर्माण तथा निर्देशन गरेको ‘मन बिनाको धन’को कथा पनि बुढाथोकीले नै लेखेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका छन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) तथा सहनिर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र विजय पाण्डे रहेका छन्। फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ।