आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मुगलान’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले युना डिजिटलको युट्युब च्यानलमार्फत २ मिनेट २४ सेकेन्डको ट्रेलर रिलिज गरेको हो।
ट्रेलरले नेपाली युवालाई राजनीतिक अस्थिरता र द्वन्द्वको चपेटामा पारी परदेशिन बाध्य पारेको कथालाई मुख्य रूपमा प्रस्तुत गर्छ। विस २०५२ सालपछि सरकार र तत्कालीन बिद्रोही पक्षबीचको द्वन्द्वले थिचिएका युवालाई ‘मुगलान’ धकेलेको कथावस्तु झल्किन्छ।
मुखियाको ऋण तिर्न परदेशिएका मुख्य पात्र प्रभात पाल फर्किएपछि घर सुनसान देखिन्छ। उनका आमा–बुबा किन, कहाँ र कसरी बेपत्ता भए— हत्या, अपहरण वा अन्य कारण— यसको वास्तविकता भने फिल्म हलमा मात्रै थाहा हुने निर्माण पक्षले जनाएको छ।
ट्रेलरमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालबीचको प्रेम–बिछोडको कथा पनि प्रस्ट देखिएको छ। उनीहरूका साथै रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु, श्री शिवांशु, मोती सुबेदी, राजु राज सोनी, रश्मी भट्ट र जीवन गौतमको झल्को पनि ट्रेलरमा समेटिएको छ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘मुगलान’ आशिष ढकालको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्मका निर्माता गोमन सिंह छन् भने को–प्रोड्युसर रिता चौधरी हुन्।
फिल्ममा किरण भुषालको संगीत छ। गीतहरूमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) को स्वर सुन्न सकिन्छ। गीत कोराइमा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) को योगदान छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।
ट्रेलर, टिजर र गीतहरू युना इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जनाएको छ।