काठमाडौँ : नेपाली फिचर फिल्म ‘एक्लो’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लाविम मलमा आयोजित विशेष कार्यक्रममा झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। कार्यक्रममा निर्देशक तथा लेखक प्रदीप शाहीसहित प्रमुख कलाकारको उपस्थिति थियो।
कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीलगायत पुगेका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले व्यस्तता बीच पनि फिल्मको विषयवस्तु मन परेको कारण टिमसँग काम गरेको बताए। निर्देशक शाहीले ‘एक्लो’ ले नेपाललाई टेक्निकल र अन्तर्राष्ट्रिय रूपमा चिनाउने क्षमता राखेको उल्लेख गर्दै फिल्मप्रति विश्वास व्यक्त गरे।
अनुभवी निर्देशक शाहीले यसअघि अन्तिम संस्कार र गोर्खाज : द ब्रेभरी निर्देशन गरिसकेका छन्। पत्रकार सम्मेलनमा उनले पूर्वीय आध्यात्मिकता र पश्चिमी जेनरका तत्वलाई मिश्रण गरेर ‘एक्लो’ तयार गरेको बताए। फिल्म काभ्रेको पनौती तथा मुस्ताङका मनमोहक स्थानमा छायांकन गरिएको हो।
फिल्मले सन् २०३० सम्ममा पृथ्वी खतरनाक भाइरसका कारण मानवविहीन हुने भविष्यको काल्पनिक कथा भन्छ। त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री ज्याक (जेमी बेकन) र उनका सहकर्मी हिमालय क्षेत्रमा क्रास–ल्याण्डिङ गर्छन्। वरपरको खोजीका क्रममा उनीहरूले पहाडबीचको गुफामा लुकेको शहर र त्यहाँ रहेका हिमालय क्षेत्रका पौराणिक संरक्षक—रहस्यमयी पात्र (प्रदीप खड्का)—लाई भेट्छन्। यही भेटपछि कथाको प्रमुख मोड सुरु हुन्छ। बाँकी कथा दोस्रो अध्यायमा प्रस्तुत गरिने निर्देशकले बताएका छन्।
फिल्मले फ्रान्सको ७८औँ कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागिता जनाइसकेको छ। कान्स मार्केटमा फिल्मले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, ओटीटी प्लेटफर्म र फिल्म निर्मातामाझ परिचय बनाएको निर्माण टिमले जनाएको छ।
डिसेम्बर २८ मा न्यूयोर्कस्थित प्रतिष्ठित म्युजियम अफ द मुभिङ इमेज मा ‘एक्लो’को ऐतिहासिक प्रिमियर हुने पक्का भएको छ। साइन्स–फिक्सनमा आधारित यो फिल्म आगामी पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउनेछ।
एनआरएन समूहको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतको अभिनय रहेको छ। साथमा बेलायती अभिनेता जेमी बेकनको पनि महत्वपूर्ण भूमिका छ।
छायांकन बाबु श्रेष्ठले, द्वन्द्व निर्देशन राजु तामाङले, सेट डिजाइन राजु पेन्टरले, कला निर्देशन सन्तोष लामाले र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।