आगामी माघ ९ गते प्रदर्शनमा आउने फिल्म ‘बिगुल’ को टिजर आइतबार सार्वजनिक गरिएको छ। सवा एक मिनेट लामो टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने संकेत दिएको छ।
फर्स्टलुक पोस्टरबाटै चर्चा कमाइरहेको फिल्मको टिजरमा देशको वर्तमान राजनीतिक अवस्था, देशप्रेम, सम्बन्ध–जिम्मेवारी र जेन्जी आन्दोलनका सन्दर्भलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मका कथाकार तथा निर्माता दिनेश कोइराला हुन्।
पछिल्लो समय एकै खाले विषयमा फिल्महरू बढिरहेका बेला ‘बिगुल’ ले भने राजनीति, परिवार, समाज, सम्बन्ध र मनोरञ्जनलाई सन्तुलित रूपमा मिसाउँदै कथा बुनेको दाबी निर्माण पक्षको छ। निर्देशक कोइरालाका अनुसार, फिल्मले मनोरञ्जनसँगै दर्शकलाई आफ्नो घर, समाज र देशमा भइरहेका राजनीतिक तथा सामाजिक घटनाबारे सोच्न प्रेरित गर्नेछ।
‘फिल्मलाई मनोरञ्जनका साथ विचारका रूपमा पनि हेर्नुपर्छ भन्ने सोचका साथ हामीले ‘बिगुल’ बनाएका हौं,’ यसअघि ‘मन मनमा’, ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका सिनीयर निर्देशक कोइराला भन्छन्, ‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउने भूमिकामा फिल्म प्रभावकारी हुन सक्छ।’
कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार, फिल्ममा उठाइएका मुख्य मुद्दा र हाल जेन्जी पुस्ताले उठाइरहेका माग, देश विकास र परिवर्तनप्रतिको चाहना एकअर्कासँग मेल खान्छन्। जेन्जी आन्दोलनप्रति समर्पित गरिएको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायत कलाकारको अभिनय रहेको छ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिब ढकालको छायांकन रहेको फिल्ममा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ। सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन्।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन्।