‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक

0 Shares

माघ २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा प्रस्तुत छन्।

पोस्टरले फिल्मको प्रेमिल भाव, युवा जोडीबीचको आत्मीयता र उत्साहपूर्ण मुडलाई सशक्त रूपमा उजागर गरेको छ। सौम्य र क्लासिक लुकमा तयार पारिएको पोस्टरमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ, जसले प्रेम, पवित्रता र सरलताको संकेत गर्छ। पृष्ठभूमिमा प्रयोग गरिएका ‘वेभ’ डिजाइनहरूले प्रेमको तरङ्गलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्। अभिषेक र आकृतिको हाँसो तथा एक–अर्काप्रतिको नजिकपनले फिल्म शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्।

पोस्टर सार्वजनिकसँगै फिल्मको नयाँ गीत ‘तिमी बिना…’ को रिलिज मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक हुनेछ। यसअघि रिलिज भएको पहिलो गीत ‘कता छौ मेरो फूल…’ ले दर्शकको राम्रो प्रतिक्रिया पाइसकेकाले नयाँ गीतप्रति थप चासो बढ्ने अपेक्षा गरिएको छ। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड **‘केहर एन्ड द लुङा’**को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेषगरी ‘जेन–जी’ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले यसले मुख्य रूपमा युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। फिल्ममा नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथात्मक फिल्ममार्फत परिचित निर्देशक राउत पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयका फिल्म निर्देशन गरेपछि ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्।

फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन्। छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ। फिल्मको डिजिटल वितरण मोशन पिक्चर्सले गरेको छ।

काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्।

सम्बन्धित समाचार

सबै