काठमाडौं। नेपाली फिल्मको प्रवर्द्धन, सम्मान तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) ले आफ्नो अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा अवार्ड कार्यक्रम INFFA 2026 भारतको नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ।
आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार महोत्सव सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म सञ्चालन हुनेछ। महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली फिल्मको प्रवर्द्धन गर्नुका साथै सिर्जनात्मक तथा व्यावसायिक विस्तारका लागि साझा मञ्च निर्माण गर्नु रहेको जनाइएको छ।
महोत्सवका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू प्रतियोगितामा सहभागी गराउन आह्वान गरिएको छ। फिल्म बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ।
INFFA 2026 अन्तर्गत उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी र समीक्षकहरूको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत आयोजना गरिनेछन्।
यस वर्षको निर्णायक मण्डलको प्रमुख जूरी अभिनेता कृष्ण मल्ल रहनेछन्। जूरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री विपना थापा तथा भारतका चर्चित थिएटर अभिनेता अभतार साहनी रहेका छन्।
इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) का अध्यक्ष राजेन्द्र घिमिरे हुन् भने महोत्सव निर्देशक (नेपाल) का रूपमा जनक दीप पराजुली रहेका छन्।
महोत्सवमा हजारौँ दर्शक र फिल्मकर्मीको सहभागिता हुने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र फिल्म उद्योगबीच सहकार्यका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
फिल्म सहभागी गराउन इच्छुक निर्माताहरूले 👉 FilmFreeway मार्फत अपलोड गर्न सक्नेछन्। साथै नेपालस्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यालयमा प्रत्यक्ष बुझाउन वा 📧 [email protected] मा गुगल ड्राइभ लिंक इमेलमार्फत पठाउन सकिनेछ।