र्‍यापर आश्मानसँग सहकार्यमा विन्दुको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक

0 Shares

काठमाडौं। गायिका विन्दु परियार र गायक तथा र्‍यापर आश्मान केसीको सहकार्यमा तयार भएको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत गीत सार्वजनिक गरिएको हो।

गीतमा शब्द तथा सङ्गीत स्वयं आश्मान केसीकै रहेको छ। गीतको म्युजिक भिडिओमा विन्दु र आश्मान दुवै फिचर्ड छन्। सार्वजनिक कार्यक्रममा उपस्थित कलाकार, सङ्गीतकर्मी तथा दर्शकले विन्दु र आश्मानको जुगल्बन्दीको खुलेर प्रशंसा गरेका थिए।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका विन्दु परियारले यस गीतमार्फत आफ्नो पुरानो चाहना पूरा भएको बताइन्।
उनले भनिन्, “आफ्नै गीतमा नाच्ने सपना थियो, यसपटक त्यो पूरा भयो। यसपटक नाच्ने शैलीको गीत तयार गरेकी छु। आश्मानजीसँगको कोल्याबले गीतलाई पृथक बनाएको महसुस भएको छ। सबै वर्गका श्रोताले मन पराउने गीत बनाउने प्रयास गरेका छौँ।”

विन्दुले यस गीतमार्फत पहिलोपटक मोडलिङ गरेको अनुभव पनि साझा गरिन्। कार्यक्रममा उपस्थित व्यक्तिहरूले विन्दुको स्वरको प्रशंसा गर्दै आश्मानसँगको सहकार्यलाई सशक्त रहेको प्रतिक्रिया दिए।

गीतकार राजेन्द्र थापाले विन्दुको स्वर अन्यभन्दा फरक रहेको उल्लेख गर्दै नयाँ सहकार्यको खुलेर प्रशंसा गरे।
उनले भने, “विन्दुलाई सुरुआती दिनदेखि नै उनको पृथक आवाजका कारण नोटिस गरेको हुँ। उनले विभिन्न किसिमका गीतमार्फत आफ्नो क्षमता देखाउँदै आएकी छन्। यसपटक आधुनिक शैलीमा र्‍याप जोडिनु नयाँ सम्भावनाको संकेत हो।”

गीतको भिडिओको समेत प्रशंसा गर्दै र्‍यापर हाकिमले सङ्गीतका फरक विधामा सक्रिय कलाकारहरूको सहकार्यले नयाँपन ल्याउने विश्वास व्यक्त गरे।
उनले भने, “विन्दुजी आधुनिक र पाश्र्वगायन दुवै क्षेत्रमा सुनिएको आवाज हो भने आश्मानजी र्‍याप सङ्गीतमा सम्भावनाशील कलाकार हुन्। उहाँहरूको जुगल्बन्दीले दुवै विधा रुचाउने दर्शकलाई एकै ठाउँमा ल्याउने हाम्रो प्रयास हो।”

गीत ‘च्वाप्प मोइ’ गायिका विन्दु परियारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत डाइनामिक स्टुडियोमा रेकर्ड गरिएको हो भने विमल छिनालको एरेञ्ज रहेको छ।

गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स तथा सम्पादन, र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। भिडिओ निर्देशन स्वयं र्‍यापर आश्मान केसीले गरेका हुन्।

सम्बन्धित समाचार

सबै