‘पीआर’ अब ‘एमएसएम भिडियो’ ओटीटीमा

0 Shares

काठमाडौं । हलमा प्रदर्शन भइसकेपछि शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत दर्शकमाझ आउने भएको छ। फिल्मलाई ओटीटीमा रिलिज गर्ने सम्बन्धमा बिहीबार निर्देशक बस्नेत र एमएसएम भिडियोका प्रतिनिधिबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

निर्देशक बस्नेतका अनुसार फिल्म आगामी पुस १० गतेदेखि ‘एमएसएम भिडियो’मार्फत स्ट्रिमिङ हुनेछ। हलमा हेर्न नपाएका दर्शकलाई लक्षित गर्दै डिजिटल प्लेटफर्ममार्फत फिल्म उपलब्ध गराउन लागिएको उनले बताए।

‘सबै ठाउँमा फिल्म हल छैन। हल नहुँदा धेरै दर्शकले फिल्म हेर्न नपाएको गुनासो गर्नुभएको थियो,’ बस्नेतले भने, ‘त्यसै कारण डिजिटल प्लेटफर्ममार्फत फिल्म प्रस्तुत गर्ने निर्णय गरेका हौँ।’

पछिल्लो समय ओटीटी प्लेटफर्ममार्फत फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य रूपमा बढिरहेको छ। यसअघि पनि ‘एमएसएम भिडियो’मा थुप्रै नेपाली फिल्म रिलिज भइसकेका छन्।

फिल्म ‘पीआर’ को प्रिमियर तथा हल प्रदर्शनका क्रममा दर्शक र फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। प्रिमियर कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, अभिनेता–अभिनेत्री गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, सलिनमान बनियाँलगायतले फिल्मको प्रशंसा गरेका थिए।

नेपालबाट अस्ट्रेलिया पुगेका युवाले स्थायी आवासीय अनुमति (पीआर) प्राप्त गर्न भोग्नुपर्ने संघर्षको कथामा आधारित यो फिल्मको अधिकांश छायांकन अस्ट्रेलियामै गरिएको छ। निर्देशक बस्नेतका अनुसार, फिल्मले विदेशिएका सन्तानको अवस्था बुझ्न नेपालमा रहेका अभिभावक र आफन्तलाई भावनात्मक रूपमा सोच्न बाध्य बनाउने प्रयास गरेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको लेखन गणेश बुढाथोकीले गरेका हुन्। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने वितरण आरआर फिल्म्सले गर्नेछ।

सम्बन्धित समाचार

सबै