प्रेमको स्पन्दन बोकेको फिल्म ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना…’ सार्वजनिक

0 Shares

काठमाडौं — माघ २३ गते रिलिज हुने प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना…’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्समार्फत डिजिटल प्रिमियर गरिएको गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। गीतका शब्द सुमन तामाङले लेखेका हुन् भने सङ्गीत सुमन तामाङ र केहर सिं लिम्बुले संयुक्त रूपमा तयार पारेका छन्। अडियो प्रोडक्सन तथा मिक्सिङ–मास्टरिङ एस्थर रिजनले गरेका छन्।

गीतको गायन शैली, शब्द र दृश्य संयोजनमार्फत प्रेमिल भावनालाई सन्तुलित र सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ प्रभावशाली बनाएको छ। यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल…’ ले पाएको सकारात्मक प्रतिक्रियापछि दोस्रो गीतप्रति पनि दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्ममार्फत चिनिएका निर्देशक दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास रिलिज हुँदैछ। त्यसैले फिल्मले विशेषगरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। फिल्ममा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयका फिल्म निर्देशन गरेका राउत ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका छन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल रहेका छन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् भने सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।

डिजिटल वितरण केन्द्र मोसन पिक्चर्सले गरेको फिल्मको काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्नेछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो।

सम्बन्धित समाचार

सबै