काठमाडौं — कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘पेन्सन पट्टा’ को छायांकन शुभमुहूर्तसहित सुरु भएको छ। कास्की जिल्लाको ताङतिङ गाउँबाट सुरु गरिएको छायांकन ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा हुने निर्माण टिमले जनाएको छ।
सिनेमाका ‘गडफादर’को उपनामबाट परिचित माओत्से गुरुङ स्वयं लगानीकर्ता पनि रहेका छन्। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारको अभिनय रहनेछ।
सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि, निर्देशक तथा निर्माता गुरुङका अनुसार फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथालाई चित्रित गर्नेछ। माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशकले नै लेखेका हुन्।
सिनेमाका लगानीकर्तामा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङ रहेका छन् भने डिबी गुरुङ प्रोडक्सन म्यानेजरको रूपमा कार्यरत छन्। छायांकन निर्देशक सुशन प्रजापति, कास्टिङ निर्देशक सुरज तमु, र संगीत झुमा लिम्बु, मनोज थापा मगर तथा शिव बराइलीले तयार पार्नेछन्।
निर्देशक माओत्से गुरुङको डेब्यु निर्देशन ‘दयारानी’ बक्सअफिसमा सफल भएको थियो। उनले गुरुङ भाषाका फिल्म निर्देशनसँगै लेखन र निर्देशनमा पनि सक्रियता देखाउँदै आएका छन्। माओत्से गुरुङ यस फिल्ममा कलाकार, निर्देशक र निर्माता—तीनै भूमिकामा रहेका छन्।