‘मिरमिरे’को टाइटल गीत सार्वजनिक

0 Shares

काठमाडौं ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को टाइटल गीत सार्वजनिक गरिएको छ। ‘मिरमिरे भो’ शीर्षकको गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ।

गीतले युवक–युवतीबीच पहिलो भेटपछि उत्पन्न हुने आकर्षण, प्रेम र सुन्दरताको मोहलाई प्रस्तुत गरेको छ। युवकको दृष्टिले युवतीमा पार्ने प्रभाव र युवतीको सौन्दर्यको भावनात्मक चित्रण गीतका शब्द र लयमा सुन्न सकिन्छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु देखिएका छन्। भिडियोले त्रिकोणात्मक प्रेमकथालाई चित्रण गरेको छ, जहाँ सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशबीचको भावनात्मक द्वन्द्व देखाइन्छ। यसले फिल्ममा पनि यस्तै प्रेम त्रिकोणको कथा रहेको संकेत गरेको छ, जुन यसअघि सार्वजनिक टिजरमा समेत झल्किएको थियो।

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने ‘मिरमिरे’को टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। टिजरमा बाबु–छोरीबीचको भावुक सम्बन्ध, मुख्य तीन पात्रबीचको सम्बन्ध र तकरारलाई समेटिएको थियो।

फिल्ममा दयाहाङ राईले बुवाको भूमिका निभाएका छन् भने उनकी छोरीको पात्रमा शाइसा गौचन देखिएकी छन्।
यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

‘मिरमिरे’को देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स ले लिएको छ।

सम्बन्धित समाचार

सबै