
वरिष्ठ अभिनेता कृष्ण मल्ल पुनः नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। नेपाल फिल्म सोसाइटीको १२औं साधारण सभाले मल्ललाई अध्यक्ष पदमा चयन गरेको हो।
काभ्रेपलाञ्चोकस्थित थुम्की रिसोर्टमा सम्पन्न उक्त साधारण सभा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, लोकगायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धर उपस्थित थिए।
अध्यक्षमा निर्वाचित भएपछि मल्लले नेपाली कलाकारिताको प्रवर्द्धन र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे।
नेपाल फिल्म सोसाइटीको नयाँ कार्यसमिति यस प्रकार छः
प्रथम उपाध्यक्ष: मोहनकृष्ण श्रेष्ठ
द्वितीय उपाध्यक्ष: नारायण प्रधान
तृतीय उपाध्यक्ष: राकेश खड्का
महासचिव: राजेन्द्रकुमार बिसुराल
सचिव: टङ्कनाथ पौडेल
कोषाध्यक्ष: शङ्करलाल श्रेष्ठ
सह-कोषाध्यक्ष: दुर्गा बिशुराल
सदस्यहरू: सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का
नेपाल फिल्म सोसाइटीका शाखाहरू अमेरिका र बेलायतमा समेत रहेका छन्।
नयाँ नेतृत्वले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।