सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित फिल्म ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै…’ सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ। माघ ९ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्मको उक्त गीतमा युवराज चौलागाईं र अनु चौधरीको स्वर रहेको छ।
गीतमा बेनीशा हमाल र नरेन खड्का फिचर्ड छन् भने शब्द तथा संगीत अर्जुन पोखरेलको हो। रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मका कथाकार तथा निर्माता दिनेश कोइराला हुन्।
पछिल्लो समय एकै खाले विषयमा आधारित फिल्महरू बग्रेल्ती आइरहेको अवस्थामा ‘बिगुल’ले भने राजनीति, परिवार, समाज, सम्बन्ध र मनोरञ्जनको समिश्रण गर्दै फरक कथा प्रस्तुत गर्ने संकेत गरेको छ। सार्वजनिक फर्स्टलुक र टिजरमार्फत फिल्मले दर्शकको ध्यान तानिसकेको छ।
फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको फिल्म कल्पना पौडेलको प्रस्तुति हो। फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायांकन रहेको फिल्ममा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन छ। संगीततर्फ विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको योगदान रहेको छ भने सम्पादन **तारा थापा ‘किम्भे’**ले गरेका हुन्।
सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन्।