काठमाडौं — फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। ‘गोबर गणेश’ बोलको गीतमा अभिनेता तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को स्वर रहेको छ भने गीतका शब्द र संगीत बाबुल गिरीले तयार पारेका हुन्।
क्याची र रमाइलो शैलीको यो गीतले फिल्मको समग्र मुडसँगै कथाको प्रस्तुतिकरण शैली झल्काउने प्रयास गरेको छ। गीतको भिडियो, शब्द र संगीतले फिल्म कमेडी जनरामा आधारित रहेको स्पष्ट संकेत गर्छ।
गीतले सबै पक्षमा अब्बल देखिने व्यक्ति पढाइमा कमजोर हुँदा त्यसले आत्मविश्वास, सामाजिक सम्बन्ध र साथीभाइबीच पार्ने नकारात्मक असरलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा देखिन्छन्। उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि उल्लेख्य उपस्थिति जनाएका छन्।
फिल्म ‘गोबर गणेश’ माघ १ गते प्रदर्शनमा आउने तयारीमा छ। मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशनमा बनेको यो फिल्मको छायांकन सकिएको छ र हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको छ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायतको अभिनय रहेको छ।
फिल्मका चिफ एडी तारानाथ न्यौपाने हुन्। योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपाल वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ।